प्रधानमन्त्रीलाई सदन देख्दा ‘एलर्जी’ हुन्छ, राज्यका सबै अङ्गमा हस्तक्षेप गरे: कांग्रेस सचेतक निश्कल राई

जेष्ठ ७, २०८३

काठमाडौं, 

नेपाली कांग्रेसका सचेतक एवं सांसद निश्कल राईले प्रधानमन्त्री बालेन शाहमाथि संसदप्रति 'एलर्जी' देखाएको र राज्यका प्रमुख अङ्गहरूमा हस्तक्षेप गरेको गम्भीर आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले सरकार र प्रधानमन्त्रीले व्यवस्थापिकाको स्थापित मर्यादा र परम्परालाई योजनाबद्ध रूपमा भत्काउँदै हिँडेको टिप्पणी गरे।

'कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप'

सांसद राईले सरकार अहिले जनसरोकारका मुद्दाभन्दा पनि सस्तो लोकप्रियता र 'क्रमभङ्गता' जस्ता शब्दमा मात्रै रमाइरहेको आरोप लगाए। उनले थपे, "सरकार र प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्नुपर्नेमा उल्टै सदनप्रति जिम्मेवार नहुने, परम्परा भत्काउँदै हिँड्ने र कार्यपालिका, न्यायपालिका एवं व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्ने काम भइरहेको छ। सत्तारुढ दलका नेताहरू भने प्रधानमन्त्रीका गल्तीहरूमा रफ्फु लगाउँदै हिँडिरहेका छन्।"

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङको माग

कांग्रेस सचेतक राईले प्रधानमन्त्री बालेन शाहलाई तत्काल सदनमा उपस्थित गराई सांसदहरूका प्रश्नको सामना गर्न लगाउन सभामुखसँग रुलिङको माग गरे। "प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै संसद्लाई मर्यादित ढङ्गले अघि बढाउन प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुख महोदयबाट रुलिङ होस्," राईले माग गरे।

प्रतिपक्षको आन्दोलन जारी रहने चेतावनी

संसद्‌मा भइरहेको विरोध प्रदर्शनबारे बोल्दै उनले सरकार सच्चिएर संसद्प्रति जवाफदेही नभएसम्म आन्दोलनका स्वरूपहरू परिवर्तन भइरहने चेतावनी दिए। उनले भने, "प्रधानमन्त्री सदनप्रति जिम्मेवार नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य रोकिने छैन। यसमा बेलैमा सभामुख र सरकारको ध्यान जाओस्।"

सांसद राईले पछिल्ला केही बैठकदेखि प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहे पनि सभामुखबाट तटस्थ भूमिका र आवश्यक साथ प्राप्त हुन नसकेको गुनासो समेत पोखे। सरकार आफैंले संसद्को सम्मान गर्नुपर्नेमा प्रधानमन्त्रीलाई सदन भन्नेबित्तिकै 'एलर्जी' भएजस्तो देखिनु लोकतान्त्रिक अभ्यासका लागि चिन्ताको विषय भएको उनको भनाइ थियो।

सम्पर्कमा रहनुहोस्