बैशाख १२, २०८३
विश्वभर शान्तिको सन्देश फैलाउने उद्देश्यका साथ राजधानीमा ‘म्यूजिक फर पिस’ कार्यक्रम सम्पन्न भएको छ। ‘जर्नालिस्ट फर जस्टिस नेपाल’को आयोजनामा शुक्रबार कमलपोखरीस्थित रसियन हाउसमा आयोजित उक्त कार्यक्रममा संगीतका विभिन्न धुनमार्फत विश्व शान्तिको कामना गरिएको थियो।
संस्थाका अध्यक्ष टिकाराम खड्काले शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट विश्व समुदायलाई महत्त्वपूर्ण सन्देश दिन खोजिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको विश्वमा युद्ध होइन, संवाद र वार्तामार्फत शान्तिको मार्ग खोज्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न हामीले यो कार्यक्रम आयोजना गरेका हौँ।”
रसियन दूतावासकी काउन्सिलर तथा रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाको सन्देश वाचन गर्दै कार्यक्रम व्यवस्थापक सन्तोष कार्कीले संगीतलाई सांस्कृतिक संवादको सशक्त माध्यमका रूपमा व्याख्या गर्नुभयो। रूस–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजित यस कार्यक्रमले साझा मूल्य, सांस्कृतिक विविधता र एकतालाई प्रतिनिधित्व गरेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली लोक तथा लोकप्रिय धुनहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।
वाद्यवादन: वाद्यवादकहरू अध्याय भण्डारी, प्रतीक डंगोल र अनुष गन्धर्वले ‘रेशम फिरिरी’, ‘फर्की आऊ’ र ‘फूलको आँखामा’ जस्ता गीतका धुनहरू प्रस्तुत गरेका थिए।
गायन तथा नृत्य: गायक तथा संगीतकार सागर अधिकारी (शरद) ले ‘अहङ्कार टुटोस्’ बोलको गीत प्रस्तुत गर्नुभयो भने बाल कलाकार आध्या रेग्मीले आकर्षक कथक नृत्य प्रदर्शन गरिन्।
कार्यक्रमको विशेष आकर्षणका रूपमा माओवादी जनयुद्धको उद्गम थलो रुकुम पूर्वका नौ जना किशोरीहरूको भिडियो सामग्री रहेको थियो। ‘फूलको आँखामा फूलै संसार’ गीतमा आधारित उक्त भिडियोमार्फत उनीहरूले शान्ति र सद्भावको मार्मिक सन्देश प्रस्तुत गरेका थिए।