पार्टी आधिकारिकता विवादमा १८ करोडको लेनदेन भएको छैन : सभापति गगन थापा

कार्तिक २०, २०८३

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता प्राप्तिसम्बन्धी कानुनी र राजनीतिक लडाइँमा कुनै पनि प्रकारको आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

हालै बाहिर आएका अडियो तथा चर्चाका विषयमा स्पष्ट पार्दै सभापति थापाले १८ करोडको डिल भएको कुरा पूर्ण रूपमा असत्य र निराधार रहेको बताए। उनले भने, ‘१८ करोडको कुरा गर्छन्, तर पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरिएको छैन।’

प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडेर आएका विषयमाथि टिप्पणी गर्दै थापाले यस विषयमा आफूले सार्वजनिक रूपमा जवाफ दिइरहनु नपर्ने बताए। ‘प्रश्न हामीलाई सोध्ने होइन, इनम सापकोटा प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो,’ थापाले भने, ‘अनुसन्धान भएपछि दूधको दूध, पानीको पानी छुटिन्छ, हामी त्यसकै प्रतीक्षामा छौँ।’

आफूभित्र डराउने कुनै जिनिस नै नरहेको उल्लेख गर्दै सभापति थापाले आफ्नो तर्सिने बानी नभएको बताएका छन्। आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै उनले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई यस्ता भ्रममा नपर्न आग्रह गरेका छन्। आफ्ना हातहरू सफा रहेको र मनमा कुनै दाग तथा कालो नरहेको उनको भनाइ छ।

सम्पर्कमा रहनुहोस्