जेष्ठ ७, २०८३
नयाँ दिल्ली ।
भारतीय राजनीति र सामाजिक सञ्जालमा यतिबेला एउटा अनौठो र अभूतपूर्व 'डिजिटल उथलपुथल' देखिएको छ। निर्वाचन आयोगमा दर्ता नै नभएको र केवल सामाजिक सञ्जालको एउटा ठट्टा (Meme) बाट सुरु भएको ‘ककरोच जनता पार्टी’ (CJP) ले भारतका स्थापित राजनीतिक दलहरूलाई समेत झस्काइदिएको छ।
गएको शनिबार (मे १६) मात्रै स्थापना भएको यस 'प्यारोडी' पार्टीको इन्स्टाग्राम ह्यान्डलले मात्र ४ दिनमा १ करोड (१० मिलियन) फलोअर्सको आँकडा पार गर्दै भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (BJP) को इन्स्टाग्राम फलोअर्सलाई समेत उछिनेको छ। इन्टरनेटमा cockroachjantaparty.org नामको वेबसाइट बनाएर सुरु गरिएको यस अभियानमा अहिलेसम्म ३ लाख ५० हजारभन्दा बढी युवाहरूले डिजिटल सदस्यता लिइसकेका छन्।
आखिर के हो त 'ककरोच जनता पार्टी' र यो एकाएक कसरी भाइरल भयो?
यस अभियानको पृष्ठभूमि भारतको सर्वोच्च अदालतबाट सुरु हुन्छ। मे १५ मा एक मुद्दाको सुनुवाइका क्रममा भारतका मुख्य न्यायाधीश (CJI) सूर्यकान्तले बेरोजगारी र प्रणाली (सिस्टम) माथि प्रश्न उठाउने युवाहरूका विषयमा टिप्पणी गर्दै मौखिक रूपमा भनेका थिए— “आजभोलि साङ्ला (ककरोच) जस्ता युवाहरू छन्, जसले कतै रोजगारी पाउँदैनन्। तिनीहरूमध्ये कोही मिडिया, कोही सामाजिक सञ्जाल त कोही आरटीआई (सूचनाको हक) कार्यकर्ता बन्छन् र सबैमाथि आक्रमण गर्न थाल्छन्।”
मुख्य न्यायाधीशले देशका युवा, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकारकर्मीलाई ‘ककरोच’ र ‘समाजका परजीवी’ भनेपछि इन्टरनेटमा आक्रोशको ज्वालामुखी विस्फोट भयो। युवाहरूले यसलाई आफ्नो आत्मसम्मानमाथिको प्रहार ठाने। यद्यपि, विवाद बढेपछि मुख्य न्यायाधीशले आफ्नो बयान नक्कली डिग्रीधारीहरूका प्रति लक्षित रहेको भन्दै स्पष्टीकरण दिएका छन्, तर त्यतिबेलासम्म ढिलो भइसकेको थियो।
मुख्य न्यायाधीशको बयान भाइरल भएकै भोलिपल्ट, महाराष्ट्रका ३० वर्षीय युवा अभिजित दिपकेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एउटा व्यंग्यात्मक पोस्ट गरे— “यदि देशका सबै ककरोचहरू एकै ठाउँमा आए भने के होला?”
त्यसपछि उनले 'ककरोच जनता पार्टी' (सीजेपी) को घोषणा गर्दै अनलाइन फारम जारी गरे। उनले अपमानलाई नै शक्तिको ब्रान्ड बनाउँदै पार्टीको नारा दिए— “Voice of the Lazy & Unemployed” (अल्छी र बेरोजगारहरूको आवाज)।
सीजेपीले आफूलाई “Secular, Socialist, Democratic, and Lazy” (धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक र अल्छी) विचारधाराको पार्टी दाबी गरेको छ। यसको सदस्य बन्नका लागि सीजेपीले तय गरेका योग्यताहरू यस्ता छन्:
बाध्यता, रहर वा सिद्धान्तले बेरोजगार हुनुपर्ने।
अल्छी हुनुपर्ने (शारीरिक रूपमा मात्र)।
चौबीसै घण्टा इन्टरनेटमा सक्रिय रहने (Chronically Online) हुनुपर्ने।
व्यावसायिक रूपमा आफ्नो आक्रोश पोख्न सक्ने (Ability to rant professionally) क्षमता भएको हुनुपर्ने।
सुरुमा एउटा सामान्य ठट्टा जस्तो देखिए पनि यो अभियानले भारतको वर्तमान राजनीतिक र न्यायिक अवस्थामाथि तीखो प्रहार गरेको छ। सीजेपीले सार्वजनिक गरेको ५ बुँदे एजेन्डाले भारतका बौद्धिक वर्ग र विपक्षी नेताहरूको ध्यान तानेको छ:
न्यायाधीशमाथि प्रतिबन्ध: कुनै पनि मुख्य न्यायाधीशलाई अवकाश (Retirement) पछि सरकारले दिने राजनीतिक लाभका पद वा राज्यसभाको सिट पुरस्कार स्वरूप दिन नपाइने।
पारदर्शिता: पार्टी पूर्ण रूपमा आरटीआई (RTI) ऐन अन्तर्गत रहनेछ र यसले कुनै पनि अज्ञात चन्दा (Electoral Bonds) वा गुप्त 'ककरोच कियर्स फण्ड' स्वीकार गर्ने छैन।
५०% महिला आरक्षण: संसद र मन्त्रिमण्डलमा महिलाहरूका लागि सिधै ५० प्रतिशत सिट सुरक्षित गरिनुपर्ने।
दलबदल विरोधी नियम: स्वार्थका लागि पार्टी परिवर्तन गर्ने (हर्स ट्रेडिङ गर्ने) नेताहरूलाई २० वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइने।
सञ्चारमाध्यमको शुद्धीकरण: कर्पोरेट घरानाको इसारामा चल्ने र समाज भाँड्ने सञ्चारमाध्यमहरूको लाइसेन्स खारेज गरिने।
यो आन्दोलन केवल डिजिटल स्क्रिनमा मात्र सीमित छैन। गत सोमबार दिल्लीको कालिन्दी कुञ्ज घाटमा दर्जनौँ युवाहरूले 'म ककरोच हुँ' लेखिएको प्लेकार्ड र साङ्लोको कस्ट्युम लगाएर प्रदूषित यमुना नदी सफा गरे। प्रणालीको खिल्ली उडाउन युवाहरूले रचनात्मक र शान्तिपूर्ण विरोधको यो तरिका अपनाएका हुन्, जसलाई तृणमूल कांग्रेस (TMC) का सांसद महुआ मोइत्रा र कीर्ति आजाद जस्ता स्थापित नेताहरूले समेत समर्थन गरेका छन्।
यो भाइरल अभियानका सूत्रधार अभिजित दिपके महाराष्ट्रको छत्रपति सम्भाजी नगर (औंरगावाद) का बासिन्दा हुन्। पुणेबाट पत्रकारिता पढेका दिपकेले केही वर्ष आम आदमी पार्टी (AAP) को सोसल मिडिया र कम्युनिकेसन टिममा रहेर काम गरेका थिए। सन् २०२० को दिल्ली चुनावमा 'आप' को डिजिटल र मिम क्याम्पेन (Meme Campaigns) बनाउन उनको ठूलो भूमिका थियो। हालै उनले अमेरिकाको प्रतिष्ठित बोस्टन युनिभर्सिटीबाट पब्लिक रिलेसन्स (PR) मा मास्टर्स डिग्री पूरा गरेका छन्।
सञ्चारमाध्यमहरूसँग कुरा गर्दै दिपकेले भनेका छन्, “म भ्रममा छैन, मलाई थाहा छ यो केही दिनमा सेलाउन सक्छ। तर यसले के देखाउँछ भने, भारतीय युवाहरू बेरोजगारी, महँगी र परीक्षाका पेपर लीक (NEET काण्ड) बाट यति दिक्क भइसकेका छन् कि उनीहरू प्रणालीविरुद्ध आफ्नो आक्रोश पोख्ने एउटा मञ्च खोजिरहेका थिए। म चाँडै भारत फर्किएर यसलाई एउटा बलियो दबाब समूहको रूपमा अगाडि बढाउनेछु।”
पछिल्लो समय नेपाल, श्रीलंका र बंगलादेशमा 'जेन-जी' (Gen-Z) अर्थात् युवा पुस्ताको आन्दोलनले सत्ता नै पल्टाएका उदाहरणहरू छन्। भारतमा भने युवाहरूले हिंसाको बाटो नजोगी 'व्यंग्य र मिम' लाई हतियार बनाएर प्रणालीलाई ऐना देखाएका छन्। ककरोच जनता पार्टीको यो लहर इन्टरनेटको क्षणिक बुद्बुद् मात्रै साबित हुनेछ वा सन् २०२९ को आम निर्वाचनअघि एउटा नयाँ राजनीतिक शक्तिको जग बन्नेछ, त्यो भने हेर्न बाँकी नै छ।