बन्दीपुरमा १४ जना चिनियाँ पर्यटकले लगाए भाइटीका

कार्तिक २७, २०८३

तनहुँको पर्यटकीय नगर बन्दीपुरमा घुम्न आएका १४ जना चिनियाँ पर्यटकले तिहारको अवसरमा नेपाली परम्परा अनुसार भाइटीका लगाएका छन्। पर्यटकहरू मंगलबार बन्दीपुर पुगेका थिए।

भ्रमणका क्रममा उनीहरूले नेपाली चाडपर्व र संस्कृतिमा रुचि देखाएका थिए। त्यसपछि स्थानीय वसन्त पौडेलले भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी दिए। टीकाको महत्त्व र विधि थाहा पाएपछि पर्यटकहरूले आफूले पनि टीका लगाउन चाहेको बताए।

बन्दीपुर गाउँपालिका–१ की सृजना बराल र विपना छिमालले पर्यटकलाई सप्तरंगी टीका र फूलको माला लगाइदिएका थिए। परम्परागत नेपाली रीतिअनुसार टीका र माला पाएपछि पर्यटकहरू खुसी देखिएका थिए।

पौडेलका अनुसार पर्यटकहरू बन्दीपुर घुम्न आएका थिए र नेपाली चाड भाइटीकाबारे सोधपुछ गरेका थिए। ‘मैले त्यसको महत्त्व र सांस्कृतिक पक्षबारे बताएँ। जानकारी पाएपछि उनीहरूले टीका लगाउन उत्सुकता देखाए। स्थानीय दिदीबहिनीले टीका लगाइदिँदा उनीहरू निकै खुसी भए,’ उनले भने।

पर्यटकहरूले अर्को देशको संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा खुसी लागेको बताएका छन्। स्थानीयवासी पनि पर्यटकलाई नेपाली चाडपर्वको प्रत्यक्ष अनुभव गराउन पाउँदा उत्साहित भएका थिए।

(स्रोत: नेपाल न्युज)

सम्पर्कमा रहनुहोस्