२५ वर्षे सेवामा ३३ हजार मुटुको शल्यक्रिया: प्रा. डा. श्यामराज रेग्मीको उदाहरणीय यात्रा

जेष्ठ २८, २०८३

चितवन । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रूपमा संवेदनशील र महँगो मानिन्छ । दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण यो उपचार जटिल बन्दै आएको अवस्थामा चितवन र काठमाडौँलाई केन्द्र बनाएर प्रा. डा. श्यामराज रेग्मीले साढे दुई दशकदेखि उदाहरणीय सेवा प्रदान गर्दै आएका छन्।

हाल भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत प्रा. डा. रेग्मीले आफ्नो २५ वर्षे सेवा अवधिमा हालसम्म ३२ हजार ६६९ जनाभन्दा बढी बिरामीको मुटुको सफल शल्यक्रिया (इन्टरभेन्सन) गरिसकेका छन्।

बाँसबारीदेखि चितवनसम्मको यात्रा विसं २०२३ मा पर्वतमा जन्मिएका डा. रेग्मीले काठमाडौँस्थित महाराजगञ्ज क्याम्पसबाट एमबिबिएस र बङ्गलादेशको ढाकाबाट मुटुरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरेका हुन्। उनले काठमाडौँको बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट आफ्नो सेवा प्रारम्भ गरेका थिए।

गङ्गालाल अस्पतालमा रहँदा उनले दुई हजार ५०० भन्दा बढी जन्मजात मुटुपीडित बालबालिकाको ‘एन्जियोग्राफी’ गर्ने, दुई हजारभन्दा बढीको मुटुको ‘भल्भ’ खोल्ने र १० हजारभन्दा बढीको ‘कोरोनरी एन्जियोग्राफी’ गरी सेवा प्रदान गरेका थिए। उनले गङ्गालाल अस्पतालमै मुटुको धमनीबाट पाइप छिराएर ‘इन्टरभेन्सन कार्डियोलोजी’ प्रविधिबाट शल्यक्रियाको सुरुवात समेत गरेका थिए।

उपत्यकाबाहिरका बिरामीको सेवालाई प्राथमिकता दिँदै उनी विसं २०६९ मा काठमाडौँ छोडेर चितवन मेडिकल कलेज (सिएमसी) पुगेका थिए। यसबीचमा उनले सिएमसीमा मात्रै १८ हजार १६९ जनाको मुटुको शल्यक्रिया गरिसकेका छन्।

मुटु नचिरिकन शल्यक्रिया डा. रेग्मीको नेतृत्वमा सिएमसीमा विशेष उपकरण र प्रविधिको सहयोगमा मुटु नचिरिकन शल्यक्रिया हुने गरेको अस्पताल प्रशासनले जनाएको छ। त्यहाँ ‘एन्जियोग्राफी’, ‘एन्जियोप्लास्टी’, पेसमेकर राख्ने, ‘पिटिएमसी’ (PTMC) र मुटुको पानी तान्ने जस्ता जटिल उपचारहरू सफलतापूर्वक भइरहेका छन्।

"अस्पतालको आकस्मिक कक्षमा आउने हृदयघात पीडित बिरामीको यथासक्य छिटो शल्यक्रिया गरी धमनी खोल्ने काम गरिन्छ। मुटु रोगका बिरामीमध्ये करिब ७० प्रतिशत बिरामीको धमनी खोल्ने काम हुन्छ।" — प्रा. डा. श्यामराज रेग्मी

हृदयघातको शङ्का हुनासाथ ९० मिनेटभित्र 'क्याथल्याब' पुर्‍याउनुपर्ने प्रा. डा. रेग्मीले हृदयघातको लक्षण थाहा पाउनासाथ यथासक्य छिटो 'क्याथल्याब' सुविधा भएको अस्पताल पुग्न सबैसँग अनुरोध गरेका छन्। "अन्तर्राष्ट्रिय मान्यताअनुसार आकस्मिक कक्षमा आएका हृदयघातका बिरामीलाई ९० मिनेटभित्र ‘क्याथल्याब’मा लगेर मुटुको बन्द नसा खोल्नुपर्छ," उनले स्पष्ट पारे।

मुटु ढिलो गरी परीक्षण गर्दा समस्या जटिल भई खर्च धेरै हुने र ज्यान जोगाउन पनि कठिन हुने भएकाले समयमै अस्पताल पुग्नुपर्ने उनको सुझाव छ।

यी लक्षण देखिए तत्काल अस्पताल जानुहोस्:

देव्रे पट्टिको छाती असाध्यै दुखेमा।

कहिलेकाहीँ ग्यास्ट्रिकले जस्तो पेट दुख्ने तर ग्यास्ट्रिकको औषधि खाँदा पनि निको नभएमा।

बढी परिश्रम गर्दा वा हिँड्दा छाती भारी भएमा।

विशेषगरी चुरोट, सुर्तीजन्य पदार्थ र मादकपदार्थ सेवन गर्ने व्यक्ति तथा मधुमेह (शुगर), उच्च रक्तचाप (ब्लड प्रेसर) र कोलेस्ट्रोल भएका बिरामीहरूलाई हरेक वर्ष अनिवार्य रूपमा मुटुको परीक्षण गर्न डा. रेग्मीले सुझाव दिएका छन्। प्रचारभन्दा सेवालाई प्राथमिकता दिने डा. रेग्मी अहिले चितवन र आसपासका क्षेत्रमा मुटुको उपचारका लागि सबैको पहिलो रोजाइ बन्न सफल भएका छन्।

सम्पर्कमा रहनुहोस्