मंसिर २४, २०८२
काठमाडौं, चीनको राज्यनियन्त्रित कम्पनी ‘चाइना हुआरोङ इन्टरनेशनल होल्डिङ्स (CHH)’की पूर्व महाप्रबन्धक बाई तियानहुइलाई ठूलो परिमाणको घुस प्रकरणमा मृत्युदण्ड दिइएको छ।सरकारी सञ्चारमाध्यमका अनुसार, बाईले सन् २०१४ देखि २०१८ बीच विभिन्न परियोजना अधिग्रहण र वित्तपोषणमा सहुलियत दिने नाममा १५६ मिलियन डलरभन्दा बढी रकम अनुचित रूपमा स्वीकार गरेकी प्रमाणित भएको थियो। अदालतले उनको अपराधलाई “अत्यन्त गम्भीर” र “राज्य तथा जनताको हितमा विशेष ठूलो क्षति पुर्याउने” ठहर गरेको छ।CHH, चीनको सबैभन्दा ठूलो खराब ऋण व्यवस्थापन संस्था ‘चाइना हुआरोङ एसेट म्यानेजमेन्ट’को सहायक कम्पनी हो। पछिल्ला वर्षहरूमा यहाँ व्यापक भ्रष्टाचार भेटिएको थियो। राष्ट्रपति सी जिनपिङको दीर्घकालीन भ्रष्टाचार विरुद्धको अभियानअन्तर्गत हुआरोङ विशेष निगरानीमा थियो। यसअघि पनि यसको पूर्व अध्यक्ष लाई सियाओमिनलाई २०२१ मा २५ करोड डलर घुस लिएको अभियोगमा मृत्युदण्ड दिइएको थियो।बाई तियानहुइले फैसला विरुद्ध अपील गरेकी थिइन्, तर सर्वोच्च जन अदालतले फेब्रुअरीमा सजाय यथावत् राख्यो। अन्तिम निर्णय सार्वजनिक भएपछि उनलाई नजिकका आफन्तसँग भेट्ने अवसर दिइयो र त्यसपछि मृत्युदण्ड कार्यान्वयन गरिएको जनाइएको छ। चीनले मृत्युदण्ड सम्बन्धी प्रक्रिया र विवरणलाई राज्य गोप्य राख्ने भएकाले त्यसको ठोस विवरण बाहिर आएको छैन।विशेषज्ञहरूको अनुसार, हुआरोङमा फैलिएको भ्रष्टाचार सफाइ अभियान आवश्यक सुधारको रूपमा लिइएको छ भने, आलोचकहरू यसलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने माध्यमको रूपमा समेत हेर्छन्।बाईको मृत्युदण्डपछि हुआरोङका अन्य उच्च अधिकारीहरू पनि लगातार अनुसन्धान र कारबाहीको दायरामा परिरहेका छन्, जसले चीनको वित्त क्षेत्रमा व्यापक भ्रष्टाचार नियन्त्रणमा कडा कदम चालिएको संकेत दिन्छ।
![]()