माघ ३, २०८२
नेपाल सरकार, गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका १० जना प्रहरी अधिकृत शुक्रबार दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले पदोन्नति प्राप्त प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहेका छन्।समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उहाँले राष्ट्र, जनता र संगठनप्रति पुर्याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनका आधारमा पदोन्नति भएको उल्लेख गर्दै पदोन्नतिसँगै जिम्मेवारी पनि थपिने भएकाले अझ जिम्मेवार र प्रभावकारी भूमिकाको अपेक्षा रहेको बताए।प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना सङ्कलन, सुरक्षा जोखिमको पहिचान र सक्रिय सुरक्षा व्यवस्थापन लाई प्राथमिकता दिन निर्देशन दिए।पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाह ले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठा र इमान्दारिताका साथ उत्कृष्ट रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाए।समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो।