जेष्ठ १९, २०८३
नवलपुर, जेठ १८ । नारायणी नदीको कटानबाट सुस्ता क्षेत्रलाई जोगाउन नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माण गर्न लागिएको तटबन्धमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध पुर्याएको छ। नेपालले सुस्ता पुलभन्दा उत्तरतर्फ, नेपाल–भारत सीमाभन्दा ५० मिटर वरै आफ्नै भूमिमा तटबन्ध निर्माण गर्न खोज्दा पनि भारतीय पक्षले काम रोक्न दबाब दिएको हो।
सुस्ता बचाउ अभियानका संयोजक आदम खानका अनुसार परम्परागत रूपमा 'भेल्लर' (सिमल) को रुख भएको ठाउँलाई सीमा मानिँदै आएकोमा नेपालले त्योभन्दा निकै वर नयाँ परियोजना अन्तर्गत १३२ मिटर लामो तटबन्ध बनाउन लागेको थियो। तर, भैसालोटनस्थित बाल्मिकीनगरबाट आएको भारतीय एसएसबीले उक्त क्षेत्रलाई 'विवादित' भन्दै काम रोक्न आदेश दिएको हो।
'ज्यानको आहुती दिन तयार छौँ, भारतीय रणनीति सफल हुन दिँदैनौँ' एसएसबीको अवरोधप्रति स्थानीय बासिन्दाले तीव्र आक्रोश व्यक्त गरेका छन्। सुस्ता बचाउ अभियानका संयोजक खानले भन्नुभयो, "यो नेपाली भूमि हो, हाम्रो भूमि रक्षाका लागि हामी ज्यानको आहुती दिन पनि पछि पर्दैनौँ। यो सुस्तालाई चारैतिरबाट घेर्ने भारतीय योजना हो। भोलि हामी यहाँका सबै जनता निर्माणस्थलमा गएर धर्ना दिई काम अघि बढाउन दबाब दिन्छौँ।"
तटबन्ध निर्माण नगरिए नारायणी नदीको बाढीले सुस्ता बस्ती नै डुबाउने र नदीले धार परिवर्तन गरेपछि सीमा पनि फेरबदल हुने नियतका साथ भारतले अवरोध गरेको स्थानीयको आशङ्का छ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारतीय पक्षको अवरोधबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताउनुभयो। भारतीय पक्षले सन् २०२३ मा भएको सहमति विपरीत काम भएको दाबी गरेको भन्दै प्रजिअ नेपालले त्यतिबेलाको सहमतिको अध्ययन गरी केन्द्र सरकारको निर्देशन अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो।
सङ्घीय सरकार अन्तर्गत सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले हेरी एन्ड जेभी कन्स्ट्रकसन प्रालिलाई १ करोड ४० लाख रुपियाँमा सो तटबन्ध निर्माणको ठेक्का दिएको हो। ठेकेदार कम्पनी आवश्यक साधनसहित फिल्डमा आउनासाथ अवरोध भएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले जानकारी दिनुभयो।
बाढीको जोखिममा ३ हजार बढी नागरिक तीन तिरबाट नारायणी नदी र एक तिरबाट भारतीय जमिनले घेरिएको सुस्तामा हाल झण्डै ३५० घरधुरीका ३ हजार २०० भन्दा बढी नेपाली बसोवास गर्छन्। गत वर्षको बर्खामा पनि बाढी बस्तीमा पसेपछि स्थानीयले रातभर जाग्राम बसेर बोरामा बालुवा भर्दै बस्ती जोगाएका थिए। बर्खा लाग्नुअघि बलियो तटबन्ध नबने बाढीको भेलले सुस्ता नै बगाउने चिन्तामा स्थानीय छन्।
सुस्ताको इतिहास र भारतीय अतिक्रमणको फेहरिस्त कुल ४० हजार ९८० हेक्टर क्षेत्रफल रहेको सुस्ताको ठूलो भूभाग भारतले निरन्तर अतिक्रमण गर्दै आएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) बीओपी सुस्ताका अनुसार:
१४,५०० हेक्टर: भारतले पूर्ण रूपमा अतिक्रमण गरेको क्षेत्रफल।
१९,९८० हेक्टर: नेपाल–भारतबीच 'विवादित' भनेर राखिएको क्षेत्रफल।
७,००० हेक्टर: मात्र हाल नेपाली नागरिकले भोगचलन गरिरहेको क्षेत्रफल (जसमध्ये ५५६ बिघाको मात्र लालपूर्जा छ)।
वि.सं २०२५: सुस्तामा पञ्चायत कार्यालय, स्कुल, हुलाक र प्रहरी चौकी स्थापना गरी नेपाल सरकारले प्रशासनिक काम सुरु गरेको।
वि.सं २०२७: नापी विभागले सुस्ताको नक्सांकन गर्दा भारतीय प्रहरीले नेपाली कर्मचारीलाई पक्राउ गरी भारतको चम्पारणस्थित बेतिया जेलमा १ वर्ष राखेको।
वि.सं २०२९: दुवै देशको सहमतिमा नापी भएर ५५६ बिघा जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको।
वि.सं २०३४: नारायणी नदीमा आएको भीषण बाढीका कारण साविकको गाउँ पञ्चायत विस्थापित भएको र त्यसैको फाइदा उठाउँदै दक्षिण तर्फबाट भारतले अतिक्रमण बढाएको।
वि.सं २०६२ यता: भारतले निरन्तर सुस्तामा अतिक्रमण बढाउँदै लगे पनि त्यसपछि सीमा सर्वेक्षण हुन सकेको छैन।