सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै ‘कोल्याप्स’ हुन्छ, रास्वपा र बालेन सरकारको आयु लामो छैन: वर्षमान पुन

जेष्ठ १६, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सामाजिक सञ्जालबाट आएको राजनीतिक शक्ति चाँडै ‘कोल्याप्स’ (पतन) हुने टिप्पणी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला सङ्गठनको भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै नेता पुनले प्रतिनिधि सभाको निर्वाचनमा १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयु लामो नभएको दाबी गरे।

अहिलेको राजनीतिक परिवर्तन र नयाँ शक्तिको उदय स्थायी नभएको जिकिर गर्दै उनले चाँडै पुराना स्थापित पार्टीहरूले नै पुनः देश सम्हाल्नुपर्ने स्थिति आउने बताए।

'भर्चुअल दुनियाँको आन्दोलन तीव्र रूपमा तल जान्छ'

सङ्गठनको भेलालाई सम्बोधन गर्ने क्रममा नेता पुनले हालै सम्पन्न निर्वाचनको प्रसङ्ग कोट्याउँदै भुइँतहमा नयाँ दलहरूको सङ्गठन नभएको आरोप लगाए।

उनले भने, ‘नेता कहीँ देखिँदैन। अस्ती भोट हाल्दा पनि मान्छे कोही छैन, बुथमा मान्छे छैन, खसेको भोट गन्दा त हजारको हजार छ। मान्छे सबै भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ। त्यसरी भर्चुअल दुनियाँबाट छिटो उठेको आन्दोलन तीव्र रूपमा उठ्यो, तीव्र रूपले तल जान सक्छ।’

'बालेन सरकारप्रति जनताको विश्वास गुम्दैछ'

नेता पुनले रास्वपा र प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारको जनधार खिस्रिँदै गएको टिप्पणी समेत गरे। आगामी स्थानीय निर्वाचनसम्म पुग्दा नयाँ शक्तिहरूको लोकप्रियता ह्वात्तै घट्ने उनको विश्लेषण थियो।

‘भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्न पर्ने अवस्था आउँछ। स्थानीय चुनाव जाँदा नजाँदै पनि तल झर्न सक्छ,’ नेता पुनले अगाडि भने, ‘अस्ती भोट दिने मान्छेहरू सुकुम्वासीहरूले गल्ती भयो भन्न थालिसकेका छन्। मधेशतिर पनि नाकामा कडाइ गरेपछि बालेन सरकारप्रति विश्वास गुम्दैछ।’

सम्पर्कमा रहनुहोस्