चैत्र १५, २०८२
✍️ सुनिल सिंह
काठमाडौँ — सरकारले पूर्वप्रधानमन्त्री तथा शीर्ष राजनीतिक नेतृत्व र उनीहरूको परिवारको चल–अचल सम्पत्ति तथा आम्दानी स्रोतबारे छानबिन प्रक्रिया सुरु गरेको छ।अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्।त्यसैगरी पूर्वमन्त्री आरजु राणा देउबा, दीपक खड्का तथा उनीहरूका परिवारका सदस्यहरूको सम्पत्ति र आम्दानी स्रोतसमेत अध्ययनको दायरामा परेको बताइएको छ।
सरकारी निकायहरूले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति विवरण, बैंक खाता, लगानी तथा आयस्रोतसम्बन्धी कागजात संकलन गर्ने प्रक्रिया अघि बढाएका छन्।प्रारम्भिक चरणमा सम्पत्ति घोषणा विवरण, कर अभिलेख तथा उपलब्ध वित्तीय कागजातहरूको मिलान गर्ने काम भइरहेको छ। आवश्यक परेमा थप बैंकिङ तथा व्यवसायिक विवरण पनि अध्ययन गरिने जनाइएको छ।
सरकारी स्रोतका अनुसार यो छानबिन सुशासन, पारदर्शिता र अवैध सम्पत्ति नियन्त्रणको उद्देश्यले अघि बढाइएको हो।सम्बन्धित निकायले कानुनी प्रक्रिया अनुसार निष्पक्ष रूपमा अनुसन्धान सम्पन्न गरिने बताएका छन्।
यो विषय सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा चासो बढेको छ। विभिन्न दलहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिन बाँकी रहेको छ।विश्लेषकहरूका अनुसार यस्तो छानबिन प्रमाण र कानुनी आधारमा अघि बढ्नुपर्ने आवश्यक छ।
हाल छानबिन प्रारम्भिक चरणमा रहेको र विस्तृत विवरण संकलन कार्य जारी रहेको बताइएको छ।सरकारी निकायहरूले अनुसन्धान निष्कर्ष नआएसम्म धैर्य गर्न आग्रह गरेका छन्।