सभामुखको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसद्‌मा श्रम संस्कृति पार्टीको नाराबाजी र बेल घेराउ

जेष्ठ २७, २०८३

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीले सभामुखको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै नाराबाजी र बेल घेराउ गरेको छ। संसद्‌मा बोल्नका लागि समय नदिइएको भन्दै सो पार्टीका सांसदहरू विरोधमा उत्रिएका हुन्।

बैठकको सुरुमा सभामुख डीपी अर्यालले रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा सांसदहरूलाई बोल्ने समय दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बोल्नका लागि सभामुखसँग समय माग गरेका थिए। तर, सभामुख अर्यालले साम्पाङलाई समय नदिई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्ने तयारी गरेपछि सदनमा विवादको स्थिति सिर्जना भएको थियो।

रास्वपा सांसदलाई समय दिएपछि आक्रोश

श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न समय माग गरिरहँदा सभामुखले उनीहरूलाई वेवास्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्मालाई बोल्न समय उपलब्ध गराएका थिए। आफूहरूले समय माग्दा नपाइने तर अन्य दलका सांसदलाई सहजै बोल्न दिइएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोशित बनेका हुन्।

सभामुखले विभेदकारी र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउँदै अध्यक्ष हर्क साम्पाङसहित सो पार्टीका सांसदहरू तत्कालै वेल घेराउ गर्न पुगेका थिए।

संसद्‌मा नाराबाजी र अवरोध

वेल घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको कार्यशैलीविरुद्ध र संसद्‌मा सबै साना-ठूला दलले समान अधिकार पाउनुपर्ने माग गर्दै जोडदार नाराबाजी गरेका छन्। उनीहरूले नियमावली र स्थापित संसदीय अभ्यास विपरीत सभामुखले दल विशेषलाई मात्र प्रश्रय दिएको आरोप लगाएका छन्।

नाराबाजी र अवरोधका कारण प्रतिनिधिसभा बैठक केही समयका लागि तनावग्रस्त बनेको थियो। सभामुखले आ-आफ्नो स्थानमा बस्न र संसद्‌को गरिमा कायम राख्न आग्रह गरे पनि श्रम संस्कृतिका सांसदहरूले आफ्नो अडान कायम राख्दै नाराबाजी जारी राखेका थिए।

सम्पर्कमा रहनुहोस्