जेष्ठ १८, २०८३
गत आइतबार प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित घटना, अभद्र व्यवहार र भौतिक क्षतिबारे छानबिन गर्न एक समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सो छानबिन समिति गठन गर्नुभएको हो।
आइतबारको बैठकमा केही सांसदहरूले संसद्को मर्यादा विपरीत अव्यवस्था सिर्जना गरेको, आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संसद् भवनभित्र भौतिक हानीनोक्सानी तथा तोडफोड समेत पुर्याएको भन्दै सभामुख अर्यालले यस्तो कदम चाल्नुभएको हो।
गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी आगामी ७ दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
संसद् लोकतन्त्रको सर्वोच्च थलो भएकाले त्यहाँभित्र हुने यस्ता उच्छृङ्खल र अमर्यादित गतिविधि सह्य नहुने र दोषीमाथि छानबिनको प्रतिवेदनका आधारमा आवश्यक कारबाही अघि बढाइने बुझिएको छ।