पुस २६, २०८२
सन्देशमा नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता तथा एकताका अमर धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवलाई आम नेपालीका लागि श्रद्धा र सदा स्मरणीय व्यक्तित्वका रूपमा स्मरण गरिबक्सिँदै उहाँको तीन सय चारौँ जन्मजयन्तीका अवसरमा नमनसहित श्रद्धासुमन अर्पण गरिबक्सिएको छ।
जस्तोसुकै शक्तिसँग संघर्ष गर्दै सबै जात, धर्म र क्षेत्रका नेपालीलाई एकतामा बाँधेर राष्ट्र एकीकरण गरिबक्सेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु स्पष्ट रहेको उल्लेख गरिबक्सिएको छ। नेपाली जनताको सुख, शान्ति र समृद्धिलाई नै प्राथमिकता दिने शाहवंशीय परम्परा निरन्तर रहँदै आएको पनि सन्देशमा उल्लेख छ।
महाराजधिराज बाट झण्डै दुई दशकअघि शान्ति, स्थायित्व र आर्थिक प्रगतिका उद्देश्यसहित “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै संरक्षणमा बुझाई राजकाजबाट बाहिर रहने निर्णय गरिबक्सिएको स्मरण गराउँदै उक्त कदम कुनै दायित्वबाट पलायन नभएको स्पष्ट पारिबक्सिएको छ।
नारायणहिटी राजदरबार परित्याग गरिएको करिब दुई दशक बितिसक्दा पनि देशले निरन्तर सामना गरिरहेको राजनीतिक, आर्थिक तथा सामाजिक संकटप्रति चिन्ता व्यक्त गरिबक्सिँदै हिजो देश नबनेको चिन्ता रहेकामा आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको उल्लेख गरिबक्सिएको छ।
बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवबाट दिइबक्सिएको दिव्य उपदेशमा उल्लेखित “चारवर्ण, छत्तीस जातको साझा फुलबारी” को अवधारणा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यो मुलुक राजा र जनताको समान स्वामित्वको राष्ट्र भएको सन्देश पुनः स्मरण गराइबक्सिएको छ।
देश भाषण, जादू वा चमत्कारबाट नबन्ने स्पष्ट पार्दै सबै जात, धर्म र क्षेत्रका नेपालीले कर्तव्यबोधका साथ “पृथ्वीपथ” मा लाग्नुपर्ने आव्हान गरिबक्सिएको छ। नेपाली जहाँ रहे पनि राष्ट्रको प्रतिष्ठासँग जोडिएको हुने उल्लेख गर्दै जनशक्ति तथा पुँजी पलायनप्रति गम्भीर चिन्ता व्यक्त गरिबक्सिएको छ।
युवापुस्ताको भावना, चाहना र आवश्यकताको समयमै सम्बोधन नगर्दा असन्तोष उत्पन्न भई विद्रोहको रूप लिन सक्ने यथार्थलाई नेतृत्वले आत्मसात गर्नुपर्ने सन्देश पनि दिइबक्सिएको छ। युवामा देखिएको भ्रष्टाचारप्रतिको असहिष्णुता र प्रविधिमा अग्रसरता उज्यालो भविष्यको संकेत भए पनि राजनीतिक चुकले त्यसलाई निराशामा बदल्न सक्ने चेतावनी दिइबक्सिएको छ।
नेपालको संवेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालका लागि शान्ति नै सबैभन्दा बलियो सुरक्षा कवच हुनुपर्ने धारणा राखिबक्सिएको छ।
अन्त्यमा, जनता र राजाको साझा प्रयासबाट निर्माण भएको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसात गर्दै सबल, स्वाभिमानी र एकताबद्ध राष्ट्र निर्माणमा सबै नेपालीलाई जुट्न आव्हान गरिबक्सिएको छ। श्री गोरखनाथबाट सबैलाई सत्बुद्धि प्राप्त होस् भन्ने कामनासहित सन्देशको समापन गरिबक्सिएको छ।
जय नेपाल।