माघ १२, २०८२
जनकपुरधाम — श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव आज मधेश प्रदेशको प्रमुख धार्मिक तीर्थस्थल जनकपुरधामस्थित जानकी मन्दिर पुग्दा जनताको अपार माया, श्रद्धा र सम्मानमा घेरिबक्सियो। धार्मिक दर्शनका लागि मन्दिर पुग्नुभएका श्री ५ लाई मन्दिर परिसर तथा आसपासका क्षेत्रमा उपस्थित सर्वसाधारण, श्रद्धालु तथा समर्थकहरूले फूलमाला, अबिर र जयघोषसहित आत्मीय स्वागत गरेका थिए।जानकी मन्दिर क्षेत्र श्री ५ को आगमनसँगै उत्सवमय बनेको थियो। विभिन्न उमेर समूहका महिला, पुरुष तथा युवायुवतीहरू श्री ५ को दर्शन र स्वागतका लागि मन्दिर परिसरमा भेला भएका थिए। “श्री ५ को जय होस्”, “राजा आउ, देश बचाउ” लगायतका नाराले मन्दिर क्षेत्र गुञ्जायमान बनेको थियो।दर्शन सम्पन्न गरेपछि श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देवले जनताले व्यक्त गरेको माया, सम्मान र सद्भावप्रति गहिरो कृतज्ञता प्रकट गर्नुभएको बताइएको छ। उहाँले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्पराहरूको संरक्षण राष्ट्रिय पहिचानका लागि अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।श्री ५ को आगमनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले जानकी मन्दिर क्षेत्र र आसपासका स्थानमा व्यापक सुरक्षा व्यवस्था मिलाएको थियो। भीड व्यवस्थापन, यातायात सञ्चालन तथा शान्ति सुरक्षाका लागि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रशासनका अनुसार भ्रमणका क्रममा कुनै पनि अप्रिय घटना हुन पाएन।स्थानीय बासिन्दाहरूले श्री ५ महाराजाधिराजको जनकपुरधाम आगमनलाई ऐतिहासिक र भावनात्मक क्षणका रूपमा लिएका छन्। धेरैले यसलाई धार्मिक आस्था, परम्परा र राष्ट्रिय एकतासँग जोडेर हेरेका छन्। स्थानीय नागरिकका अनुसार श्री ५ को उपस्थितिले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्व झनै उजागर भएको छ।पछिल्लो समय श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भ्रमणमा सक्रिय देखिनुभएको छ। यस्ता भ्रमणलाई लिएर देशका विभिन्न स्थानमा जनस्तरमा चासो, चर्चा र बहस बढ्दै गएको छ।