शिक्षा संस्कार हो, तमासा होइन

पुस १०, २०८२

एउटा बोर्डिङले “विवाह संस्कार सिकाउने” नाममा गरेको तामझामसहितको भिडियो भर्खरै देखें।
भिडियो सकिए पनि—मनभित्र प्रश्नहरूको भीड सुरु भयो।

विवाह सिकाइने विषय होइन।
यो कुनै अभिनय, प्रयोग वा प्रदर्शनको सामग्री पनि होइन।

विवाह हरेक समाजमा संस्कृति, परम्परा र धर्मअनुसार फरक–फरक रूपमा स्थापित गंभीर सामाजिक बन्धन हो—यसको आफ्नै मर्यादा, संवेदनशीलता र जिम्मेवारी छन्।

त्यति संवेदनशील विषयलाई बाल्यावस्थामा रहेका नानीबाबुलाई खेल, रमिता वा “एक्टिभिटी” का रूपमा प्रस्तुत गर्नु शिक्षण होइन—यो त मूल्यभ्रम सिर्जना गर्नु हो।

जमाना प्रतिस्पर्धाको हो।
प्रयोगात्मक सिकाइले शिक्षामा सकारात्मक परिवर्तन ल्याएको कुरा अस्वीकार गर्न सकिँदैन।
बालमैत्री शिक्षण अभ्यास पनि विकास हुँदैछ — त्यो राम्रो हो।

तर कहिलेकाहीँ भाइरल हुने होडविद्यार्थी बढाउने लोभ मा केही निजी विद्यालयले गरिरहेका गतिविधि हेर्दा,
गुरु” शब्दको गरिमा कहाँ झरिरहेको छ?” भन्ने प्रश्नले झस्काइदिन्छ।

रक्षाबन्धन, तिहार, क्रिसमस…
सबै मनाइँदैछ।
तर अब विवाहजस्तो जीवनभरको बन्धनलाई पनि रमिता बनाएर प्रस्तुत गर्दा —
अवोध बालमस्तिष्कमा के रोपिँदै छ?

आज त्यही विद्यार्थीलाई रक्षाबन्धनमा दिदी–भाइ बनाइन्छ,
भोलि त्यही विद्यार्थीलाई विवाहमा दुलाहा–दुलही।
यस्तो विरोधाभासले बालमस्तिष्कमा कस्तो मूल्यबोध विकास हुन्छ?

गुरु हो —
तपाईंको सोच कुन धरातलमा उभिएको छ?
शिक्षा चेतना जगाउने माध्यम हो कि क्षणिक चर्चाको साधन?

यस्ता संवेदनशील विषयमा सम्बन्धित निकायको तत्काल ध्यान आवश्यक छ।
भाइरलको मोहमा बालमस्तिष्कमा विकृति र भ्रम रोप्ने काम बन्द गरियोस्।

शिक्षा संस्कार हो — तमासा होइन। 🙏

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्