विश्वकप क्रिकेट लिग–२ नेपाल अमेरिकासँग पराजित
समय सूत्र
कार्तिक ९, २०८२
काठमाडौँ, ९ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा समेटियो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए ।अमेरिकाका लागि हर्मित सिंहले छ विकेट लिए भने शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।त्यसअघि ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै २६२ रनको योगफल बनाएको थियो ।अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक ७५ रन बनाए । उनले १०० बलमा नौ चौकाको सहयोगमा ७५ रन बनाएका हुन् । त्यस्तै मिलन्द कुमारले अविजित रहँदै ७० रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहार गरे । सैतेजा मुक्कामल्लले ४२ र शुभम् रञ्जनेले १९ रन जोडे ।नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।यो जितसँगै अमेरिका २१ खेलमा ३० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो हारसँगै १७ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ ।
राष्ट्रिय समाचार समिति (रासस)