विद्या र सिर्जनाकी देवी सरस्वतीको पूजा–आराधनामा सहभागी

माघ ९, २०८२

@एन.मानन्धर काठमाडौँ –   आज माघ शुक्लपञ्चमी, अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व मनाइएको छ। यस दिन श्रद्धालुहरूले विद्या र सिर्जनाकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी पर्व मनाउने परम्परा छ।पौराणिक विश्वास अनुसार आजको दिन सूर्य उत्तरतिर लाग्ने भएकाले दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरू आफ्ना कला–साधनका वस्तु—कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई देवी सरस्वतीको रूपमा पूज्दै आराधना गर्छन्। तान्त्रिक परम्परामा उनलाई तन्त्र सिद्धिका लागि तारादेवीको रूपमा पनि पूजिन्छ।सरस्वतीलाई हजारौँ नामले पुकारिएको पाइन्छ, जस्तै भारती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि। कथन अनुसार **‘सरस्वती कवच’**को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञवाल्क्य, कणाद, पाणिनी, शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेका छन्।आजको पर्वसँगै अक्षराम्भ गर्ने चलन पनि रहेको छ। सरस्वती पूजाको दिन साना बालबालिकालाई अक्षर सिकाउन थाल्ने परम्परा रहेको छ, जसले विद्या र बुद्धि प्राप्तिमा सहयोग पुर्याउने विश्वास छ। यसै सन्दर्भमा आज बिहानैदेखि स्वयम्भुस्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड देखिएको छ। पूजा–आराधनामा सहभागीहरूले देवी सरस्वतीको कृपा प्राप्ति र विद्या, बुद्धि, सिर्जनात्मक प्रतिभा वृद्धिको कामना गरेका छन्।  

सम्पर्कमा रहनुहोस्