विज्ञान तथा प्रविधिको प्रतियोगितात्मक प्रदर्शनी

मंसिर ११, २०८२

भक्तपुर, ११ मङ्सिरः मिड भ्याली कलेजले आजदेखि सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आज एकैदिन पाँच हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । मध्यपुरथिमिस्थित कलेज प्राङ्गणमा आयोजना भएको प्रदर्शनीमा भक्तपुरका ६० भन्दाबढी र काठमाडौँ, ललितपुर एवं काभ्रेपलाञ्चोकका गरी कूल ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित विज्ञान तथा प्रविधिसम्बन्धी ९३ वटा उपकरण एवं सामग्रीहरू प्रदर्शनीमा राखिएका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका १० हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो । प्रदर्शनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले विज्ञान र सूचना प्रविधितर्फको नवीनम् प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य ऊर्जा, स्वास्थ्य, भवन निर्माणलगायत विभिन्न उपकरण एवं सामग्रीहरू प्रदर्शन गरिएको छ । विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यावहारिक शिक्षालाई विशेष जोड दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनीमा अवलोकनमा लागि उपत्यकका विभिन्न विद्यालयका विद्यार्थीको भीड बढेको बताउनुभयो । उहाँले प्रदर्शनीमा सहभागि विभिन्न विद्यालयका विद्यार्थीले कल्पनै नगरेका नव अन्वेषणमूलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताउनुभयो । कार्यक्रमका उद्घाटन गर्दै प्रा डा रामेश्वर अधिकारीले यसप्रकारको प्रदर्शनीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधितर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्दत पुग्ने बताउनुभयो । प्रदर्शनी अवलोकनमा सहभागी नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले यसप्रकारका प्रदर्शनीले विद्यार्थीलाई खोज तथा अनुसन्धानका लागि अभिप्रेरित गर्ने बताउँदै वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो । तीन वटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने भएको छ । सहभागी प्रत्येक टिमलाई रु छ हजार प्रदान गरेको कलेजले प्रदर्शनीमा प्रथम हुनेलाई टिमलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु १० हजार पुरस्कार, शिल्ड तथा प्रमाणपत्र निर्देशक अर्यालले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

सम्पर्कमा रहनुहोस्