विचारको क्रान्ति: भ्रमको खेती र बिकेको राष्ट्रियता

बैशाख ११, २०८३

– बाबुराम चुवान आजको समाज र व्यवस्थालाई हेर्दा मेरो मनमा धेरै गम्भीर प्रश्नहरू उठ्छन्। जुन कुरालाई हामी 'प्रगति' र 'प्रजातन्त्र' भनिरहेका छौँ, के त्यो वास्तवमै सत्य हो? मलाई लाग्दैन। मेरो अध्ययन र अनुभवले भन्छ—हामी एउटा ठूलो भ्रमको चक्रव्यूहमा छौँ।     शिक्षा कि प्रमाणपत्रको व्यापार?  आजभोलि शिक्षा यति सस्तो र अर्थहीन भएको छ कि "पिएचडी भैँसीको सिङ्गमा पनि हुन्छ" भन्दा अत्युक्ति हुँदैन। विश्वविद्यालयबाट उत्पादित विद्वानहरूमा विवेक र नैतिकताको खडेरी छ। शब्दहरूको मूल्य हराएको छ, किनकि "संसारको सबैभन्दा सस्तो चिज शब्द" बनेको छ। बोल्ने एउटा, गर्ने अर्को—यो नै आजको चरित्र हो।     बौद्धिक पतन र पश्चिमा अन्धभक्ति  हामीलाई लाग्छ पढे-लेखेका मानिस बढेपछि देश बन्छ। तर यथार्थ उल्टो छ। जुन देशमा पढे-लेखेका विद्वान र बुद्धिजीवी भनिनेहरू बढ्दै जान्छन्, त्यो देश र समाज पतनको बाटोमा जान्छ। पश्चिमा 'मोडल' को अन्धभक्तिले युरोप र अमेरिकाको सामाजिक जग कसरी भत्किँदै छ, त्यो आज हाम्रो अगाडि प्रष्ट छ।     नेपाली मुकुण्डो, विदेशी खेताला  नेपालमा आज "ट्रिपल एजेन्टहरू" को कमी छैन। नाम नेपाली छ, नागरिकता नेपाली छ, र नेपाली भाषामै ठूला-ठूला राष्ट्रियताका कुरा गर्छन्। तर, यथार्थमा यिनीहरू विदेशीको खेताला र डलरमा बिकेका दलाल हुन्। यिनीहरू नारा दिन्छन्, विकल्प दिन्छन्, तर कहिल्यै राष्ट्रिय एकताको कुरा गर्दैनन्।     इतिहासको भ्रष्टीकरण र सनातनी व्यवस्था  सच्चा इतिहास ज्ञानको ज्योति हो, तर नेपालमा हाम्रो मौलिक इतिहासलाई मेटेर विदेशी एजेन्टहरूको महिमामण्डन गरिन्छ। हाम्रो आफ्नै सनातनी व्यवस्था थियो, जसलाई भत्काउन 'सुकिला-मुकिला' हरूले काल्पनिक कथा बुनेर हामीलाई प्रजातन्त्रको जुलबी खुवाए। आजको यो Democracy भनेको केवल Dissatisfaction (असन्तुष्टि) र Disinformation (भ्रम) को खेती मात्र हो।     मेरो निष्कर्ष  जीवन र समाज जहिल्यै पनि एउटै नियमबाट चलेको हुन्छ—त्यो हो सत्य र यथार्थ। जबसम्म हामी डलरमा बिकेका दलाल र विदेशीले लेखिदिएको इतिहासको पछि लाग्छौँ, तबसम्म हाम्रो देशले सही बाटो पाउँदैन। हामीलाई आयातित प्रजातन्त्र होइन, हाम्रो माटो सुहाउँदो मौलिक व्यवस्था र राष्ट्रिय एकता चाहिएको छ।   

सम्पर्कमा रहनुहोस्