विकासको नारा अधुरो पुल : किशोरी साह ‘कमल’सँग जोडिएको नौ वर्षे असफल आयोजना

फाल्गुन ५, २०८२

धनुषाको जलाद नदीमा निर्माणाधीन उक्त पुल छिरेश्वरनाथ नगरपालिका–७ र ९ हुँदै मिथिला मध्यमा परिक्रमा सडकअन्तर्गत पर्दछ। २०७४ असार १९ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको भए पनि आजसम्म पुल सञ्चालनमा आउन सकेको छैन। सम्झौताअनुसार २०७६ पुस १९ गतेभित्र काम सकिनुपर्ने थियो।सडक डिभिजन कार्यालय जनकपुरका अनुसार १२० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल १२ करोड ३५ लाख ६३ हजार २ सय २४ रुपैयाँमा ‘पप्पु–कमल जेभी’ निर्माण कम्पनीले ठेक्का पाएको थियो। उक्त कम्पनीका साझेदारमध्ये किशोरी साह ‘कमल’ पनि एक थिए। निर्वाचन नजिकिँदै गर्दा उनले कम्पनी आफ्नो नामबाट अन्य व्यक्तिको नाममा स्थानान्तरण गरे पनि हाल पुल निर्माणको वास्तविक अख्तियारी उनका नातेदार सञ्जीव साहमार्फत सञ्चालन भइरहेको बताइन्छ।समयमै काम सम्पन्न नभएपछि २०८० असार मसान्तसम्म पहिलोपटक म्याद थप गरिएको थियो। त्यसपछि पनि काम नसकिएपछि २०८२ मसान्तसम्म तेस्रोपटक म्याद थपिएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दारोगा प्रसादले जानकारी दिए। उनका अनुसार विगतमा ठेकेदारको लापरबाहीका कारण निर्माणमा गम्भीर ढिलाइ भएको थियो। हाल प्रगति करिब ७५ प्रतिशत पुगेको दाबी गरिए पनि दुईवटा स्पानको काम अझै अधुरो छ।पुल नबन्दा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुरलगायत दर्जनौँ बस्तीका बासिन्दा वर्षायाममा जोखिम मोलेर नदी पार गर्न बाध्य छन्। स्थानीय राजनीतिक नेताहरूका अनुसार हरेक वर्ष बाढीका बेला नदी तर्ने क्रममा सर्वसाधारणले ज्यान गुमाउने अवस्था समेत आइरहन्छ। “विकासको नाममा वर्षौँदेखि झुटा आश्वासन मात्रै पाइरहेका छौँ,” एक स्थानीयले गुनासो गरे।२०८० माघ ३ गते तत्कालीन सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुणकुमार लाल कर्णको अध्यक्षतामा बसेको बैठकले २०८१ जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति गरेको थियो। सो सहमतिअनुसार दोस्रो स्पान २०८० फागुन १० भित्र र तेस्रो स्पान २०८० जेठ मसान्तभित्र सक्ने, साथै २०८१ असार मसान्तभित्र यातायात सञ्चालन हुने गरी माटो तथा ग्राभेलको काम सम्पन्न गर्ने उल्लेख थियो।तर, स्थानीय नेताहरूका अनुसार ती सहमति कागजमै सीमित भए। पटक–पटक दबाबमूलक कार्यक्रम आयोजना गरिए पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन। “निर्वाचनमा मत माग्न आउने नेताले पहिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो,” एक स्थानीय अगुवाले भने।विकास र समृद्धिको नारा र व्यवहारबीच देखिएको यस्तो विरोधाभासले मतदातामाझ गम्भीर प्रश्न खडा गरेको छ— जनताको भोट माग्ने उम्मेदवारले जनताकै जीवनसँग जोडिएको परियोजना समयमै सम्पन्न गर्न नसक्नु कत्तिको नैतिक हो?

सम्पर्कमा रहनुहोस्