वडासचिवलाई धम्क्याउने ‘जेनजी अभियन्ता’ प्रकाश खड्का काठमाडौँबाट पक्राउ, प्रधानमन्त्री कार्यालयको गम्भीर आपत्ति

जेष्ठ २, २०८३

काठमाडौँ । आफूलाई 'जेनजी अभियन्ता' र प्रधानमन्त्री कार्यालयको व्यक्ति भन्दै दैलेखका एक वडासचिवलाई टेलिफोनमार्फत धम्की दिने प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ। दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई दबाबमूलक ढंगले धम्क्याएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खड्कालाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार एक सिफारिसका लागि वडासचिव भण्डारीलाई फोनबाट भय र त्रास सिर्जना गरेको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा भाइरल र 'सुधन गुरुङ'सँगको कनेक्सन

अहिले खड्काले वडासचिवलाई धम्क्याएको फोन रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले खड्काको कडा आलोचना गरिरहेका छन्। कतिपय प्रयोगकर्ताका अनुसार खड्काले यसअघि पनि विभिन्न सरकारी कार्यालयका हाकिमहरूलाई बजेट र आर्थिक विषयमा धम्क्याउने तथा आफ्नो लागि प्लेनको टिकट काट्न लगाउने जस्ता हर्कत गर्दै आएका थिए। उनलाई 'जेनजी मुभमेन्ट नेपाल'का सुधन गुरुङ निकट व्यक्तिका रूपमा समेत हेरिएको छ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्ति: "अक्षम्य र निन्दनीय कार्य"

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रसेवक कर्मचारीमाथि कार्यकक्षमै भय सिर्जना हुने गरी दिइएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी वहन गरिरहेका कर्मचारीमाथि पदीय मर्यादा विपरीत धम्क्याउने कार्य निन्दनीय र अक्षम्य भएको उल्लेख गर्नुभएको छ।

"सुशासनको अभियानमा कोही कसैसँग सम्झौता हुँदैन," प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने प्रकाश खड्कामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया तत्काल अघि बढाउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको छ।"

प्रशासनिक संयन्त्रलाई दबाबमा पारेर व्यक्तिगत स्वार्थ सिद्ध गर्न खोज्ने र अभियन्ताको आवरणमा धम्की दिने प्रवृत्तिविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने सङ्केत यो कारबाहीले दिएको छ।

सम्पर्कमा रहनुहोस्