जेष्ठ ८, २०८३
खेलकुद डेस्क ।
क्रिस्टियानो रोनाल्डोले साउदी अरब बसाइको तीन वर्षपछि पहिलो पटक 'टप-फ्लाइट' लिग उपाधि जितेका छन्। बिहीबार राति भएको रोमाञ्चक खेलमा अल-नासरले डामकलाई ४-१ गोल अन्तरले पराजित गर्दै सन् २०१८-१९ को सिजनपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि आफ्नो पोल्टामा पारेको हो।
अल-अव्वल पार्कमा भएको खेलमा ४१ वर्षीय रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा मुख्य भूमिका खेले। खेलको अन्तिम सिट्ठी बज्नुअघि नै पाँच पटकका ब्यालोन डी'ओर विजेता रोनाल्डो मैदानमै भावुक बन्दै रोएका थिए। उनले आफ्नो ऊर्जावान् खेल करियरमा टोलीका तर्फबाट जितेको यो ३३औँ उपाधि हो।
न्युज हाइलाइट्स (In Short):
डामकलाई ४-१ ले हराउँदै अल-नासरले जित्यो सन् २०१८-१९ पछिको पहिलो साउदी प्रो लिग उपाधि।
क्रिस्टियानो रोनाल्डोद्वारा उत्कृष्ट फ्रि-किकसहित सानदार दुई गोल, खेल सकिनुअघि नै मैदानमा बगे आँसु।
रोनाल्डोले यस सिजन ३० लिग खेलमा २८ गोल पुरा गरे।
पोर्चुगिज सहकर्मी जोआओ फेलिक्सद्वारा रोनाल्डोको संघर्ष र क्लबको ऐतिहासिक दिनको प्रशंसा।
खेलको पहिलो हाफमा साडियो मानेको गोलको मद्दतले अल-नासरले १-० को अग्रता लिएको थियो। दोस्रो हाफ सुरु भएको सातौँ मिनेटमै किङ्ग्सले कोमानले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ५८औँ मिनेटमा डामकका मोर्लाये सिलाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएर पुनरागमनको प्रयास गरे। तर, त्यसपछि मैदानमा रोनाल्डो नायक बने। उनले एक उत्कृष्ट फ्रि-किकसहित व्यक्तिगत दुई गोल थप्दै अल-नासरको ४-१ को जित निश्चित गरे।
यो दुई गोलसँगै रोनाल्डोले यस सिजन ३० लिग खेलमा आफ्नो गोल सङ्ख्या २८ पुर्याएका छन्। यस सिजन उनीभन्दा बढी अल-अहलीका इभान टोनी (३२ गोल) र अल-कादिसियाका जुलियन क्विनोनेस (३३ गोल) ले मात्र गोल गरेका छन्।
रोनाल्डोका पोर्चुगिज सहकर्मी जोआओ फेलिक्सले रोनाल्डोले यो ऐतिहासिक विन्दुसम्म आइपुग्न धेरै उतारचढाव र विवादहरूको सामना गर्नुपरेको खुलासा गरे। करिब १२ महिनाअघि चेल्सीबाट अल-नासर आएका २६ वर्षीय फेलिक्सका लागि पनि साउदीमा यो पहिलो सफल सिजन रह्यो। उनले यस सिजन २० गोल र १३ असिस्टसहित कुल ३३ गोलमा योगदान दिए।
खेलपछि फेलिक्सले भने:
"यो जित विशेष छ, किनकि यो धेरै विवाद र आलोचनाको समय थियो। साउदी अरबमा अल-नासरबाट लिग जित्नु सहज छैन। पोर्चुगलका मानिसहरूलाई सायद यो थाहा नहुन सक्छ। क्रिस (रोनाल्डो) यहाँ आएदेखि नै पहिलो उपाधि, खास गरी लिग जित्न प्रयास गरिरहेका थिए। म उनीसँग हरेक दिन सँगै हुने भएकाले मलाई थाहा छ कि यो उपाधिका लागि उनले कति पीडा भोगेका छन् र उनी यो जित्न कति आतुर थिए।"
फेलिक्सले थपे, "यस सिजन लिगको 'सर्वोत्कृष्ट खेलाडी' को अवार्ड कि त मलाई कि त क्रिसलाई नै जानुपर्छ।"
साउदी लिगको उपाधि उत्सव सकिएसँगै जोआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डोको ध्यान अब फिफा विश्वकप (FIFA World Cup) तर्फ मोडिएको छ। दुवै खेलाडी पोर्चुगलको विश्वकप टोलीमा समेटिएका छन्। पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन र ४१ वर्ष पुगिसकेका रोनाल्डोका लागि अन्तर्राष्ट्रिय मञ्चमा यो देशलाई विश्वविजेता बनाउने अन्तिम अवसर हुनेछ।
विश्वकपटको सम्भावनावारे बोल्दै फेलिक्सले भने, "हामीसँग एउटा उत्कृष्ट टोली छ। केही दिनको आरामपछि हामी जुन १ देखि तयारीमा जुट्नेछौँ। भाग्यले साथ दियो भने यस पटक हामी विश्वकप जित्न सक्छौँ भन्ने विश्वास छ।"