फाल्गुन २९, २०८२
काठमाडौं— राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी गर्दै हुनुका कारण राहदानी वितरण सेवा केही समयका लागि अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ। विभागले जारी गरेको सूचनामा सेवाग्राहीहरूलाई एकदेखि तीन सातासम्म राहदानी सेवा प्रभावित हुन सक्ने जानकारी दिएको छ।विभागका अनुसार हाल राहदानी पुस्तिकालगायत आवश्यक तयारीहरू पूरा भइसकेका छन्। अब एक–दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा पूर्णरूपमा संक्रमण गरिनेछ। उक्त अन्तरिम अवधिमा प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म राहदानी वितरण प्रभावित हुने विभागले जनाएको छ।सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म बन्द हुन सक्ने छ। त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा करिब एक सातासम्म बन्द रहन सक्ने उल्लेख गरिएको छ।विभागले जनाएको छ कि नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने अनुमान गरिएको छ। यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिने प्रक्रियामा राहदानी तयार हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने सम्भावना रहेको छ।यसैबीच, राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई असोजभित्र आवेदन दिन र अन्तरिम व्यवस्था लागू हुनु अघि सेवा प्राप्त गर्न सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
राहदानी विभागले नयाँ प्रणाली सुरु हुने मिति र अन्तरिम अवधिमा अपनाइने व्यवस्थाबारे अर्को सूचना मार्फत जानकारी गराउने जनाएको छ।