रास्वपा पर्सामा तीव्र गुटबन्दी: जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा संस्थापन र ३ सांसद समूहबीच विवाद उत्कर्षमा, स्थगनको माग

जेष्ठ २४, २०८३

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साभित्रको आन्तरिक विवाद र गुटबन्दी सतहमा आएको छ। स्थानीय तहको अधिवेशनदेखि सुरु भएको दुई पक्षीय मतभेद अहिले प्रथम जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दा झन् चर्किएको हो।

पर्सामा रास्वपाभित्र दुई वटा स्पष्ट गुट देखिएका छन्। एउटा समूहको नेतृत्व पार्टीका संस्थापक जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हरि पन्तले गर्दै आएका छन् भने अर्को समूहमा बाँकी तीन वटा क्षेत्रका सांसदहरू सुशील साह कानु (क्षेत्र नं २), रमाकान्त चौरसिया र टेकबहादुर शाक्य गोलबन्द भएका छन्।

वीरगन्ज महानगर अधिवेशनको साख र चुनावी टकराव

यसअघि जेठ १७ गते सम्पन्न वीरगन्ज महानगरपालिकाको प्रथम अधिवेशनमा नै यी दुई गुटबीचको शक्ति सङ्घर्ष प्रस्ट देखिएको थियो। महानगरको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सांसदत्रय (कानु, चौरसिया र शाक्य) को गुटले बाजी मारेको थियो।

महानगर सभापति पदमा पन्त समूहका उम्मेदवार महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गर्दै असन्तुष्ट (सांसदत्रय) गुटका उम्मेदवार दीपराज पटेल विजयी भएका थिए। महानगरको यही नतिजापछि जिल्लाको नेतृत्व हत्याउन दुवै पक्षले आफ्नो रणनीति र कसरत तीव्र पारेका हुन्।

"एकलौटी गरियो, अधिवेशन तत्काल स्थगित होस्" : असन्तुष्ट पक्ष

रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन आइतबार (आज) हुँदै छ, जसका लागि शनिबारदेखि नै वीरगन्जको होटल गेट वे मा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। तर, निर्वाचन प्रक्रिया चलिरहेकै बेला शनिबार अपरान्ह सांसदत्रय कानु, चौरसिया र शाक्यको असन्तुष्ट गुटले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्न माग गर्दै मधेस प्रदेश नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ।

पार्टीका सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल, र क्षेत्रीय सभापति राम आर्य लगायतका नेताहरूले मधेस प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार र मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख प्रमोद कुमार रायमाझीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

जिल्लाका १४ वटै पालिका तथा विभिन्न विभागहरूबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि (प्रतिनिधिको नामावली) चयन गर्दा जिल्ला सभापति हरि पन्त पक्षले पार्टीको विधान र स्थापित पद्धति मिचेर एकलौटी ढङ्गमा आफ्ना खल्तीका मान्छेहरू भित्र्याएको आरोप असन्तुष्ट पक्षका नेता महादेवप्रसाद कुर्मीले लगाए।

"जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको प्रतिनिधिहरूको नामावलीमा विभिन्न विभागका प्रतिनिधिहरू पनि समावेश छन्। तर ती विभागहरू कहिले, कुन प्रक्रिया र निर्णयका आधारमा गठन भए? प्रतिनिधिहरूको मनोनयन कसरी गरियो? विभाग गठनसम्बन्धी माइन्युट र निर्णय विवरणहरू पार्टीको आधिकारिक पोर्टलमा किन छैनन्? यी सब कुरा पारदर्शी रूपमा सार्वजनिक गरेपछि मात्रै जिल्ला अधिवेशन गरिनुपर्छ," कुर्मीले माग गरे।

"पद्धति मिचिएको छैन, अधिवेशन तोकिएकै समयमा हुन्छ" : सभापति हरि पन्त

यता, रास्वपा पर्साका सभापति एवं सांसद हरि पन्तले भने असन्तुष्ट पक्षले लगाएका सबै आरोपहरूको खण्डन गरेका छन्। उनले जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गर्दा आफूले कुनै पनि प्रकारको हस्तक्षेप वा एकलौटी नगरेको दाबी गरे।

"पालिका तथा विभागका प्रतिनिधि चयन पूर्ण रूपमा पार्टीको विधान, सङ्गठकीय नियमावली र केन्द्रको निर्देशन अनुसार नै न्यायोचित तवरले गरिएको हो," सभापति पन्तले भने, "पूर्वनिर्धारित कार्यतालिका अनुसार नै जिल्ला अधिवेशन आइतबार नै सम्पन्न हुन्छ। यसका लागि निर्वाचनका कानुनी प्रक्रियाहरू शनिबारदेखि नै सुरु भइसकेकाले कोही पनि साथीहरू द्विविधामा नपर्नुहोला।"

सभापति पदका लागि सांसद भिड्दै

रास्वपा पर्साको भावी सभापति पदका लागि दुई हेभीवेट नेताहरू आकांक्षी देखिएका छन्। संस्थापन समूहबाट वर्तमान जिल्ला सभापति एवं सांसद हरि पन्त र अर्को समूहबाट पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुले सभापतिमा दाबी प्रस्तुत गरेका छन्। दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहेकाले पर्सा रास्वपाको विवाद मत्थर हुने भन्दा पनि चुनावी मैदानमा थप पेचिलो बन्ने संकेत देखिएको छ।

सम्पर्कमा रहनुहोस्