रास्वपा नेतृ गोमा तामाङको अभिव्यक्तिले निम्त्यायो विवाद: ‘माटो र चिममा भोट हाल्नेले समानुपातिक खोज्ने?’

चैत्र ६, २०८२

  @एस.आचार्य ,धरान, सुनसरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कोशी प्रदेश कार्यवाहक सभापति तथा सुनसरी क्षेत्र नं. १ की तत्कालीन उम्मेदवार गोमा तामाङ (शरिन) को एउटा सामाजिक सञ्जालको पोस्टले यतिबेला राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। रास्वपाको समानुपातिक सूचीमा राई, लिम्बू र मगर समुदायको प्रतिनिधित्व नभएको भन्दै भइरहेको आलोचनाको जवाफ दिने क्रममा उनले प्रयोग गरेको भाषालाई लिएर चौतर्फी विरोध सुरु भएको हो। के थियो विवादित अभिव्यक्ति? शरिनले आफ्नो फेसबुक पोस्टमार्फत रास्वपालाई भोट नहाली अन्य चिन्ह (माटो र चिम) मा भोट हाल्नेहरूले नै अहिले समानुपातिक सूचीमा आफ्नो समुदायको प्रतिनिधित्व खोजिरहेको भन्दै आक्रोश पोखेकी छिन्। उनले लेखेकी छिन्, "भएको सप्पै राई, लिम्बु, तामाङ, मगर माटो कि माटो, चिम कि चिम भन्ने... रास्वपामा हिम्मत गरेर आउनेहरूलाई गद्दार भनेर विरोध गर्ने, फेसबुकका भोट पनि सोत्तर उतैतिर ठोकी पठाउने अनि अहिले रास्वपा समानुपातिकमा खोइ अरे? तम्मोरले बगायो।" उनले रास्वपामा आबद्ध हुनेहरूलाई 'झोले' र 'गद्दार' भन्दै गाली गर्नेहरूले नै अहिले पार्टीको आन्तरिक संरचना र समानुपातिक सूचीमा प्रश्न उठाएको भन्दै तीखो व्यङ्ग्य गरेकी हुन्। निर्वाचनको पृष्ठभूमि र हारको आक्रोश गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी शरिन श्रम संस्कृति पार्टीका हर्कराज राईसँग पराजित भएकी थिइन्। सो निर्वाचनमा निर्वाचित हर्कराज राईले ३५ हजार ७४१ मत प्राप्त गर्दा शरिनले २७ हजार २४९ मत मात्रै प्राप्त गरेकी थिइन्। आफ्नै क्षेत्रका ठूलो संख्याका मतदाताले हर्कराज राई (जसको चुनाव चिन्ह माटो वा चिम थियो) लाई समर्थन गरेको र रास्वपालाई समानुपातिकमा समेत अपेक्षित मत नदिएको भन्दै उनले यो असन्तुष्टि पोखेकी हुन्। बढ्दो आलोचना र दबाब रास्वपाको समानुपातिक सूचीमा राई, लिम्बू र मगर समुदाय नसमेटिएको भन्दै पहिले देखि नै पार्टीभित्र असन्तुष्टि थियो। यस्तो संवेदनशील समयमा पार्टीको प्रदेश कार्यवाहक सभापति जस्तो जिम्मेवार पदमा रहेकी नेतृले मतदातालाई नै लक्षित गरी "तम्मोरले बगायो" जस्ता शब्दावली प्रयोग गरेपछि उनको कडा आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई 'मतदाताको अपमान' र 'पराजित मानसिकताको उपज' भन्दै टिप्पणी गरिरहेका छन्। कतिपयले यसले पार्टीको छविमा समेत नकारात्मक असर पुग्ने बताएका छन्।

सम्पर्कमा रहनुहोस्