माघ २३, २०८२
सप्तरी । सप्तरी क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार अमरकान्त चौधरीमाथि विद्यालय भवन निर्माणमा आर्थिक अनियमितता भएको आरोप लागेको छ। उक्त आरोपको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।अख्तियारका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित कान्त चन्द्र नमूना माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी परेपछि अनुसन्धान थालिएको हो। चौधरी तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका थिए।अख्तियारद्वारा सार्वजनिक गरिएको पत्रमा चौधरीसहित ९ जना सम्बन्धित व्यक्तिहरूलाई नागरिकताको प्रतिलिपि र फोटोसहित उपस्थित भई बयान दिन निर्देशन दिइएको उल्लेख छ। पत्रमा भवन निर्माण कार्यमा मिलेमतो गरी सरकारी रकम दुरुपयोग गरिएको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ।यस विषयलाई लिएर स्थानीय तहमा तथा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा सहित चुनावी मैदानमा उत्रिएका उम्मेदवारमाथि लागेको आरोपले मतदाताहरूबीच चासो र प्रश्नहरू उत्पन्न भएको देखिन्छ।उक्त आरोपबारे चौधरी वा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन।निर्वाचनको मुखमा आएको यस घटनाले उम्मेदवार चौधरीको चुनावी अभियानमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ। अख्तियारको अनुसन्धानको निष्कर्षपछि मात्र आरोपको यथार्थ पुष्टि हुने बताइएको छ।