बैशाख २९, २०८३
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि वैचारिक र राजनीतिक रूपमा कडा प्रहार गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता बादलले रास्वपा कुनै व्यवस्थित राजनीतिक दल नभई 'अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड' मात्र भएको टिप्पणी गरे।
प्रतिनिधिसभामा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका बादलले रास्वपाको उदय र वर्तमान कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन्।
नेता बादलले रास्वपा नेतृत्वको सरकारले संसदको अधिवेशन स्थगन गरेर एकैपटक ८ वटा अध्यादेश जारी गरेको विषयलाई लिएर आपत्ति जनाए। उनले यसको पछाडि राज्यका प्रमुख अङ्गहरूमा आफ्नो एकल नियन्त्रण कायम गर्ने नियत लुकेको दाबी गरे।
"प्रतिनिधिसभा र संघीय सरकारमा नेतृत्व स्थापित गरेपछि रास्वपाले जुन ८ वटा अध्यादेश ल्यायो, यसको मुख्य लक्ष्य राज्यको प्रशासन र न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो," बादलले भने, "यस्तो अलोकतान्त्रिक बाटोबाट आफ्नो स्वार्थ पूरा गर्न रास्वपा सफल पनि भएको छ।"
रास्वपाले प्राप्त गरेको चुनावी र राजनीतिक सफलतालाई बादलले 'स्वभाविक' मान्न तयार भएनन्। उनले यो सफलता त्याग, बलिदान वा क्षमताबाट नभई प्रविधिको खेल र अरूको कमजोरीबाट आएको बताए।
उनको विश्लेषण अनुसार रास्वपाको उदयका मुख्य तीन कारण यस्ता छन्:
सत्ताधारीका कमजोरी: विगतका सत्ताधारी दलहरूले गरेका गल्तीहरूको योगफल।
प्रविधिको प्रयोग: एआई (Artificial Intelligence) र सामाजिक सञ्जालको 'अल्गोरिदम' को जादु।
भू-राजनीतिक प्रभाव: विश्व भू-राजनीतिको दृश्य र अदृश्य प्रभावहरूको परिणाम।
बादलले रास्वपाको कुनै ठोस राजनीतिक विचारधारा नरहेको भन्दै यो 'अस्थायी गठजोड' धेरै समय नटिक्ने संकेत समेत गरे। सदनमा एमाले नेताको यो आक्रामक टिप्पणीले सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको वाकयुद्धलाई थप उत्कर्षमा पुर्याएको छ।