फाल्गुन ६, २०८२
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व मधेस सभापति ममता शर्माले पार्टीभित्र ‘दाग लागेका व्यक्तिहरूको दबदबा’ बढ्दै गएको भन्दै आफूले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको बताएकी छन्।कांग्रेस प्रवेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले रास्वपा स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताबाट क्रमशः विचलित हुँदै गएको आरोप लगाइन्। “पार्टी सुधार र सुशासनको नारासहित स्थापना भए पनि व्यवहारमा दागैदाग भएकाहरूको बिगबिगी देखियो,” उनले भनिन्, “त्यस्तो पार्टीमा बसेर राजनीतिमा इमानदार योगदान दिन सम्भव रहेन।”उनका अनुसार रास्वपाभित्र निर्णय प्रक्रिया सीमित व्यक्तिको हातमा केन्द्रित हुँदै गएको थियो भने आर्थिक प्रभावका आधारमा निर्णय लिने प्रवृत्ति मौलाउँदै गएको थियो। उनले सक्षम र इमानदार कार्यकर्ताको योगदानको मूल्यांकन नभएको, विधि र विधानलाई बेवास्ता गरिएको तथा आन्तरिक लोकतन्त्र कमजोर बनेको गुनासो गरिन्।ममता शर्माले मधेसमा रास्वपाको संगठन निर्माणका लागि आफूले दिनरात खटिएर काम गरेको उल्लेख गर्दै पछिल्लो समय उम्मेदवार छनोट र पार्टी सञ्चालनको शैलीप्रति गहिरो असन्तुष्टि पैदा भएको बताइन्। “स्थापनाकालीन आदर्शभन्दा पार्टी निकै टाढा पुगेको महसुस भएपछि अन्ततः अलग हुने निर्णय गरेँ,” उनले भनिन्।कांग्रेसमा प्रवेश गर्नुको कारण स्पष्ट पार्दै शर्माले नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, लामो राजनीतिक अनुभव र विधिसम्मत अभ्यास रहेको दाबी गरिन्। “मूल्य, सिद्धान्त र संगठनात्मक अनुशासनका आधारमा काम गर्न सकिने वातावरण कांग्रेसमा देखेँ,” उनको भनाइ थियो।उनको कांग्रेस प्रवेशलाई मधेस राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। रास्वपाबाट उच्च तहका नेतृको बहिर्गमन र परम्परागत दलमा प्रवेशले पार्टीभित्रको आन्तरिक संरचना र नेतृत्व शैलीमाथि थप प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।यस विषयमा रास्वपाको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। प्रतिक्रिया आएमा समावेश गरिने जनाइएको छ।