रास्वपाका नेता सन्तोष परियारले पार्टी त्यागे

कार्तिक २८, २०८२

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा विघटित प्रतिनिधिसभामा प्रमुख सचेतकका रूपमा जिम्मेवारी सम्हालेका सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र बढ्दै गएको असन्तुष्टि, आगामी चुनावमा आफ्नो भूमिकाबारे बनेको नकारात्मक मूल्यांकन र राजनीतिक भविष्य अनिश्चित बन्दै गएको अनुभूति भएपछि उनले अन्ततः पार्टी छाड्ने निर्णय गरेको बताइन्छ।परियारलाई समानुपातिक प्रणालीतर्फबाट फेरि उम्मेदवार नबनाउने र प्रत्यक्ष निर्वाचनतर्फ टिकट दिए पनि जिताउने सम्भावना कमजोर रहेको आन्तरिक विश्लेषणपछि उनको राजनीतिक भविष्य ‘जोखिममा पर्ने’ निष्कर्ष पार्टीभित्र प्रबल बन्दै गएको स्रोतहरूले जनाएका छन्। यही मूल्यांकनले परियारलाई गम्भीर निराशामा पु¥याएको र पार्टी नेतृत्वसँग दूरी बढ्दै गएको बताइन्छ।परियार रास्वपाको सुरुदेखि नै महत्वपूर्ण अनुहार मानिन्थे। उनले विघटित प्रतिनिधिसभामा प्रमुख सचेतकका रूपमा सक्रियता देखाएका थिए र पार्टीभित्र मध्यमार्गी तथा संवादमुखी नेताका रूपमा पहिचान स्थापित गरे। तर हाल आएर पार्टीभित्रको आन्तरिक सन्तुलन, निर्णय प्रक्रियामा देखिएको प्रभावहीनता तथा आगामी निर्वाचनमा आफूलाई कमजोर स्थितिमा राखिएको अनुभूति उनले अस्वीकार्य ठानेका देखिन्छ।पार्टी छाडेपछि परियारले नयाँ राजनीतिक योजना बुनिरहेका छन् कि छैनन् भन्ने विषयमा आधिकारिक जानकारी बाहिरिएको छैन। तर उनी पछिल्लो समय केही राजनीतिक समूह र नेतासँग घनिष्ठ संवादमा रहेको दाबी पनि स्रोतहरूले गरेका छन्।रास्वपाबाट परियारको निष्क्रमणलाई पार्टीकै लागि ठूलो चुनौतीको रूपमा पनि हेरिएको छ, किनकि पार्टीले हालै आएर संगठन विस्तार, आन्तरिक समन्वय र आगामी निर्वाचनको तयारीलाई प्राथमिकता दिइरहेको छ। महत्त्वपूर्ण भूमिकामा रहेका नेता बाहिरिनुले पार्टीभित्रको असन्तुष्टिको आयाम थप खुल्न सक्ने विश्लेषकहरूको भनाइ छ।

 

रिपोर्टर:@एन.बि.एम.छेत्री

सम्पर्कमा रहनुहोस्