जेष्ठ १८, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली ओर्लिएका सभापति लामिछानेलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले विमानस्थलमा भव्य स्वागत गरेका छन्।
लामिछाने भाजपा अध्यक्ष नितिन नविनको विशेष निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्।
पाँच दिन सम्म चल्ने यस भ्रमणका क्रममा सभापति लामिछानेले भाजपाका शीर्ष नेतृत्वका साथै भारत सरकारका उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, समसामयिक राजनीतिक परिस्थिति र आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
लामिछानेको नेतृत्वमा रहेको यस नेपाली प्रतिनिधिमण्डलमा निम्नलिखित सदस्यहरू सहभागी छन्:
निकिता पौडेल (लामिछानेकी धर्मपत्नी)
विपिन आचार्य (पार्टी सहमहामन्त्री एवं सांसद्)
दीपक बोहोरा (सांसद्)
प्रदीप आचार्य
रास्वपाले हालैका दिनहरूमा आफ्नो अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउँदै लगेको सन्दर्भमा यस भ्रमणलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।