राष्ट्रपति शेख मोहम्मद बिहीबार रूसको औपचारिक भ्रमणमा जाँदै

माघ १४, २०८२

अबुधाबी — संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाहयान बिहीबारदेखि रूसको औपचारिक भ्रमणमा जानुहुने भएको छ। राज्य समाचार संस्था वाम (Wam) का अनुसार भ्रमणका क्रममा उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुनेछ।भेटमा दुई देशबीचको रणनीतिक साझेदारीअन्तर्गत अर्थतन्त्र, व्यापार, लगानी, ऊर्जा लगायत साझा विकासलाई प्रवर्द्धन गर्ने विभिन्न क्षेत्रका अवसरबारे छलफल हुने जनाइएको छ।गत साता अमेरिका मध्यस्थतामा रूस–युक्रेनबीचको शान्ति वार्ता अबुधाबीमा सम्पन्न भएको थियो। यस पृष्ठभूमिमा राष्ट्रपति शेख मोहम्मदको रूस भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।शेख मोहम्मदले गत वर्ष पनि रूसको औपचारिक भ्रमण गर्नुभएको थियो। त्यस अवसरमा उहाँले यूएई–रूस सम्बन्ध आपसी विश्वास, सम्मान र पाँच दशकभन्दा बढी समयदेखि कायम गहिरो र रचनात्मक सहकार्यमा आधारित रहेको बताउनुभएको थियो।गत भ्रमणका क्रममा दुई देशबीच सेवा व्यापार तथा लगानी सम्झौता मा हस्ताक्षर भएको थियो। साथै यूएईका ऊर्जा तथा पूर्वाधारमन्त्री सुहैल अल मजरुई र रूसका यातायातमन्त्री आन्द्रेई निकितिनबीच यातायात सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो।

सहकार्य निरन्तर

हाल यूएईमा १३ हजार ५ सयभन्दा बढी रूसी कम्पनी दर्ता छन्। त्यस्तै, यूएईका कम्पनीहरूले पनि रूसका यातायात, ऊर्जा, सम्पत्ति र खाद्य प्रशोधनजस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गर्दै आएका छन्।दुवै देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन हवाई सम्पर्कले पनि महत्वपूर्ण भूमिका खेलेको छ। यूएई र रूसका विभिन्न सहरहरूलाई जोड्ने गरी हप्तामा २०० भन्दा बढी उडान सञ्चालन भइरहेका छन्।

सम्पर्कमा रहनुहोस्