रक्सौल–काठमाण्डु नयाँ रेलमार्गको डीपीआर तयारीको अन्तिम चरणमा

पुस ७, २०८२

काठमाडौं । बिहारको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ अन्तरदेशीय रेलमार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ। भारतीय रेलवेका अधिकारीहरूले डीपीआर तयारीको अन्तिम चरणमा पुगेको र आगामी जनवरी २०२६ मा हस्तान्तरण हुने जानकारी दिएका छन्।यो नयाँ रेलमार्ग सञ्चालनमा आएपछि रक्सौल–काठमाण्डुको दूरी करिब ३ घण्टामा पूरा गर्न सकिनेछ। हाल सडकमार्गबाट यही दूरी तय गर्न ६–७ घण्टा लाग्छ। परियोजनाको कुल बजेट करिब २५ हजार करोड भारतीय रुपैयाँ निर्धारण गरिएको छ।निर्माण हुने रेलमार्गमा १३ रेलवे स्टेशन, ४२ किलोमिटर सुरुङ मार्ग र १२४ वटा पुल निर्माण हुने भारतीय कोंकन रेल्वेका अधिकारीहरूले जनाएका छन्। प्रस्तावित ब्रोडगेज रेललाइनको गति प्रति घण्टा १२० किलोमिटर रहनेछ।रेलमार्ग रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाण्डु–चोभारसम्म पुग्नेछ। यो रेलमार्ग यात्रुवाहक मात्र नभई मालवाहक रेलको रूपमा पनि सञ्चालन गरिनेछ, जसले भारत र अन्य मुलुकबाट नेपाल आउने मालसामानको ढुवानी लागत कम गर्ने अपेक्षा गरिएको छ।भविष्यमा यसलाई भारतको राजधानी नयाँ दिल्लीसम्म विस्तार गरी ‘दिल्ली–काठमाण्डु ट्रेन सर्भिस’को रूपमा क्षेत्रीय रेल नेटवर्कमा विकास गर्ने योजना रहेको कोंकन रेल्वेका अधिकारीहरूले जानकारी दिएका छन्।हाल नेपालमा जयनगरदेखि जनकपुर हुँदै भँगहाससम्म ४५ किलोमिटर रेलमार्ग मात्र सञ्चालनमा छ।

@एस.आचार्य

सम्पर्कमा रहनुहोस्