माघ २१, २०८२
वाशिङ्टन |
संयुक्त अरब इमिरेट्स (युएई) ले युद्धग्रस्त सुडानका लागि थप ५० करोड अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। यसैबीच, संयुक्त राज्य अमेरिकाले सुडानमा जारी गृहयुद्ध अन्त्यका लागि प्रस्तावित व्यापक शान्ति योजनाको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ।मंगलबार वाशिङ्टनमा आयोजित सुडान सहायता प्रतिवद्धता सम्मेलनमा युएईकी राज्य मन्त्री लाना नुसैबेहले सुडानको जनसंख्याको आधाभन्दा बढीलाई तत्काल मानवीय सहयोग आवश्यक रहेको बताउँदै उक्त सहायता खाद्यान्न, स्वास्थ्य सेवा, आवास तथा जीवनरक्षक सेवामा खर्च गरिने जानकारी दिइन्।
“देशभर मानवीय संस्थाहरूले निर्बाध रूपमा सहायता पुर्याउन सकून् भनेर तत्काल युद्धविराम अपरिहार्य छ,” नुसैबेहले सम्मेलनमा भनिन्।
अमेरिकी राष्ट्रपति कार्यालयका अरब तथा अफ्रिकी मामिलाका वरिष्ठ सल्लाहकार मस्साद बौलोसले सुडान शान्ति योजनाको पाठ (text) तयार भइसकेको दाबी गरे पनि त्यसमा अझै ‘क्वाड’ समूहका अन्य सदस्य—युएई, साउदी अरेबिया र इजिप्ट—को औपचारिक स्वीकृति आवश्यक रहेको बताए।
“म सुरक्षित रूपमा भन्न सक्छु, शान्ति योजनाको पाठ तयार छ,” बौलोसले भने, “क्वाडका सदस्यहरू र अन्य साझेदारहरू यस संकटलाई यथाशीघ्र समाधान गर्न गम्भीर रूपमा प्रतिबद्ध छन्।”
उनले यो द्वन्द्वको कुनै पनि सैन्य समाधान सम्भव नरहेको दोहोर्याउँदै मानवीय युद्धविरामको आवश्यकता औंल्याए।
यद्यपि, सुडानमा लडिरहेका दुवै पक्ष—सुडानी सशस्त्र सेना (SAF) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (RSF)—ले अहिलेसम्म युद्धविराम वा अमेरिकी शान्ति योजनामा सहमति जनाएका छैनन्। बौलोसका अनुसार, योजना अन्ततः संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’मा प्रस्तुत गर्ने लक्ष्य रहेको छ।
सुडानमा अप्रिल २०२३ मा सुरु भएको गृहयुद्धले हालसम्म देशलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ। SAF र RSF दुवैमाथि युद्ध अपराधका गम्भीर आरोप लाग्दै आएका छन्। युद्ध सुरु भएयता १ करोड २० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन्।
संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले सुडानका कम्तीमा तीन क्षेत्रमा भोकमरी फैलिसकेको र अन्य चार–पाँच क्षेत्रमा पनि गम्भीर जोखिम देखिएको चेतावनी दिएका छन्।
“यहाँ अत्यन्तै गम्भीर खाद्य संकट, स्वास्थ्य सेवा अभाव, आवास समस्या र क्रूर हिंसाबाट जोगिनुपर्ने अवस्था छ,” उनले भने। उनले यौन हिंसा पनि यो द्वन्द्वको ‘पहिचान’ जस्तै बनेको उल्लेख गरे।
बौलोसले अमेरिकाले पनि सुडानका लागि थप २० करोड डलर सहायता प्रदान गर्ने घोषणा गरे। सम्मेलनमा साउदी अरेबियासहित अन्य देशहरूले सहयोगको समर्थन जनाए पनि ठोस रकम घोषणा भने केही देशले पछि गर्ने बताएका छन्। सम्मेलनबाट कुल करिब १.५ अर्ब डलर सहायता संकलन हुने अपेक्षा गरिएको छ।युएईले आइतबार मात्रै संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै सुडानका नागरिकका लागि खाद्य सहायता सुदृढ गर्न २० मिलियन डलर छुट्याएको थियो। सन् २०१५ यता युएईले सुडानलाई कुल ४.२४ अर्ब डलर सहयोग गरिसकेको छ, जसमा गृहयुद्ध सुरु भएपछि मात्र ७८४ मिलियन डलर मानवीय सहायता समावेश छ।
विश्लेषकहरूका अनुसार, युएईको ठूलो आर्थिक सहयोग र अमेरिकाको कूटनीतिक पहलले सुडान संकट अन्तर्राष्ट्रिय प्राथमिकतामा फर्किएको संकेत गर्दछ। तर, युद्धरत पक्षहरूको अनिच्छा र राजनीतिक जटिलताका कारण तत्काल शान्ति कायम हुनेमा अझै अनिश्चितता कायमै छ।