यातायात र पूर्वाधारमा बजेट: महिलाका लागि सीसी क्यामेरासहितको ‘ब्लुबस’ गुड्ने, पूर्वपश्चिम राजमार्गलाई ३७ अर्ब

जेष्ठ १५, २०८३

काठमाडौँ ।

सरकारले महिलाहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न विशेष यातायात सेवाको घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सीसी क्यामेरा जडित अत्याधुनिक ‘ब्लुबस’ सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरेका हुन्।

उक्त सेवा काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी क्षेत्रहरूमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।

१. सडक मर्मतसम्भारका लागि साढे २८ अर्ब: धुलो र खाल्टाखुल्टी मुक्त बनाइने

आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरी सडकहरूलाई नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउने संकल्प बजेटले गरेको छ।

राष्ट्रिय अभियान: सडकको मर्मतसम्भार कार्यलाई राष्ट्रव्यापी अभियानका रूपमा सञ्चालन गर्न सरकारले २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ।

पहिरो नियन्त्रण: राजमार्गका उच्च जोखिमयुक्त स्थानहरूमा जलवायु अनुकूलित संरचना निर्माण गर्न र पहिरोका कारण हुने अवरोध तत्काल हटाई सेवा सुचारु राख्न ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ।

२. पूर्वपश्चिम राजमार्ग: ३७ अर्ब ४६ करोड विनियोजन, ५ वर्षभित्र ४ लेन

नेपालको लाइफलाइन मानिएको १ हजार २८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गको स्तरोन्नति कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ।

पाँचवर्षे लक्ष्य: सिंगो राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिनेछ।

चालु वर्षका आयोजना: यसै आर्थिक वर्षभित्र कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नति कार्य सम्पन्न हुनेछ।

आगामी वर्षको योजना: आगामी वर्ष काकडभिट्टा–लौकही, कमला–बागमती, बुटवल–गोरुसिङे र धानखोला–लमही खण्ड अन्तर्गत ८० किलोमिटर सडक स्तरोन्नति गरिनेछ। यस राजमार्गका लागि मात्रै सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।

३. द्रुतमार्ग (Fast Track) र चक्रपथ विस्तार

काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्यलाई तीव्रता दिँदै आगामी वर्षभित्र ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ मार्ग निर्माणको काम पूर्ण रूपमा सम्पन्न गरिने बजेट वक्तव्यमा उल्लेख छ।

त्यसैगरी, काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरणको कलङ्की–वसुन्धरा खण्डको विस्तार कार्य सुरु गरिने भएको छ। बाँकी रहेको वसुन्धरा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन कार्य सम्पन्न गरिनेछ भने बहुप्रतीक्षित टोखा–छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन (Detailed Feasibility Study) गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।

४. रेलमार्ग निर्माणले गति लिने

बजेटमा रेल पूर्वाधार विकासलाई पनि समेटिएको छ। महोत्तरीको बर्दिबासदेखि काठमाडौँ–तराई–मधेस द्रुतमार्गको प्रस्थान बिन्दुसम्मको रेलमार्ग निर्माण कार्यलाई अगाडि बढाइनेछ। यसका साथै, निर्माणाधीन अवस्थामा रहेका बथनाहा–विराटनगर र जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी रहेका कामहरू सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिएको छ।

सम्पर्कमा रहनुहोस्