मंसिर २७, २०८२
![]()
काठमाडौं — राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहमा चार जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री पदमा नियुक्त गरेका हुन्।शपथ ग्रहणसँगै श्रद्धा श्रेष्ठले महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंले वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीले श्रम मन्त्रालय र कुमार इङ्नामले भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन्।नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठ विगतमा नेपाल पर्यटन बोर्डसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा प्रतिवादी रहँदै आएकी छिन्। काठमाडौं निवासी श्रेष्ठ २४ वर्षदेखि बोर्डमा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छिन्। उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छन् र फुलब्राइट फेलोसमेत हुन्।२०७१ चैत २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डमा देखिएको अनियमितताको प्रकरणमा २३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा श्रेष्ठसहित अन्य कर्मचारीहरू पनि प्रतिवादीका रूपमा समावेश थिए। अख्तियारले उनीहरूविरुद्ध ६९ करोड रुपैयाँ बराबरको बिगो मागदाबी गरेको थियो।