पुस २, २०८२
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरिसक्नुभएको छ । अध्यक्षसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६६० जनाको उम्मेदवारी परेको छ । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएको छ भने महाधिवेशनमा २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।यसैबीच, पार्टीभित्रैबाट अध्यक्ष पदमा केपी शर्मा ओलीको जित पहिले नै सुनिश्चित भइसकेपछि मात्र मतदान प्रक्रिया सुरु गरिएको आरोप उठाइएको छ । केही प्रतिनिधि तथा असन्तुष्ट समूहले प्रतिस्पर्धालाई कमजोर पार्ने गरी शक्ति र प्रभाव प्रयोग गरिएको दाबी गरेका छन् ।त्यस्तै, अध्यक्ष पदको चुनाव जित्न केपी शर्मा ओली पक्षबाट दबाब, डरत्रास तथा गुटगत ‘गुण्डागर्दी’ प्रयोग गरिएको आरोपसमेत लागेको छ । यद्यपि, ओली पक्षले यी सबै आरोपको खण्डन गर्दै महाधिवेशन लोकतान्त्रिक र विधिसम्मत ढंगले अघि बढिरहेको दाबी गरेको छ ।महाधिवेशनको अन्तिम नतिजाले पार्टीको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलन स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
![]()