मकवानपुरमा १२१ किलोभन्दा बढी चरेससहित दुई जना पक्राउ

माघ ७, २०८२

सुनिल केसी  मकवानपुर

मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० स्थित टौखेल क्षेत्रबाट ठूलो परिमाणको लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। टौखेलबाट मार्खुतर्फ जाँदै गरेको वा प्र ०३–००१ ह १५०७ नम्बरको अटोबाट प्रहरीले १२१ किलो ४६६ मिलिग्राम चरेस बरामद गरेको हो।लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ निवासी २१ वर्षीय सानु कान्छा थिङ र अटो चालक थाहा नगरपालिका–४ निवासी २९ वर्षीय घनश्याम वल लामालाई अटोसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार पालुङ र चित्लाङ क्षेत्रबाट खटिएको प्रहरीको संयुक्त विशेष टोलीले गोप्य सूचनाको आधारमा उक्त अटो चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अटोभित्र लुकाइछिपाइ राखिएको १२ वटा रबरका डिब्बाभित्र चरेस फेला परेको हो।प्रहरीका अनुसार बरामद गरिएको चरेस योजनाबद्ध रूपमा एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस घटनालाई मकवानपुर क्षेत्रमा बढ्दै गएको लागुऔषध ओसारपसारविरुद्धको अभियानमा महत्त्वपूर्ण सफलताका रूपमा लिइएको छ। प्रहरीले जिल्लाका विभिन्न नाकाहरूमा निगरानी र चेकजाँच अझ कडा बनाइएको जानकारी दिँदै, लागुऔषध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

स्थानीय बासिन्दाहरूले प्रहरीको सक्रियताप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि निरन्तर कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सम्पर्कमा रहनुहोस्