भारतमा तहल्का मच्चाएको ‘ककरोच जनता पार्टी’ को एक्स अकाउन्ट प्रतिबन्धित, संस्थापकाे दाबी– ‘डरका कारण कारबाही भयो’

जेष्ठ ७, २०८३

नयाँ दिल्ली ।

भारतीय राजनीति र सामाजिक सञ्जालमा एकाएक तहल्का मच्चाएको प्यारोडी अभियान ‘ककरोच जनता पार्टी’ (CJP) को आधिकारिक एक्स (ट्विटर) अकाउन्टमाथि भारतमा प्रतिबन्ध लगाइएको छ। भारतका मुख्य न्यायाधीश (CJI) सूर्यकान्तको बेरोजगारीसम्बन्धी एउटा विवादास्पद अभिव्यक्तिपछि जन्मिएको यस भर्चुअल दलको ह्यान्डललाई एक्सले ब्लक (Withheld) गरिदिएको हो।

पार्टीका संस्थापक अध्यक्ष अभिजित दिपकेले बिहीबार आफ्नो व्यक्तिगत अकाउन्टमार्फत "अपेक्षा गरिए अनुसार नै भारतमा ककरोच जनता पार्टीको अकाउन्ट ब्लक गरिएको छ" भन्दै स्क्रिनसट सार्वजनिक गरेका छन्।

मुख्य न्यायाधीशको त्यो भनाइ र युवाहरूको आक्रोश

गत साता भारतको सर्वोच्च अदालतमा एक मुद्दाको सुनुवाइका क्रममा मुख्य न्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवा र सामाजिक सञ्जालका अभियन्ताहरूको तुलना कथित रूपमा ‘ककरोच’ (साङ्ला) सँग गरेका थिए। चौतर्फी विरोध र आक्रोश बढेपछि सीजेआईले आफ्नो बयान नक्कली डिग्रीधारीहरूप्रति लक्षित रहेको भन्दै स्पष्टीकरण दिएका थिए, तर युवाहरूले यसलाई आफ्नो आत्मसम्मानमाथिको प्रहार ठाने।

त्यसकै विरोध र व्यङ्ग्यको स्वरूप महाराष्ट्रका युवा अभिजित दिपकेले ‘ककरोच जनता पार्टी’ को घोषणा गरेका थिए। सुरुमा केवल ठट्टा र मजाकका रूपमा सुरु गरिएको यो डिजिटल अभियान यति लोकप्रिय बन्यो कि इन्स्टाग्राममा मात्र ५ दिनभित्र यसले १ करोड १७ लाखभन्दा बढी फलोअर्स कमाउँदै भारतको सत्तारुढ दल भाजपालाई समेत उछिनेको थियो।

इन्टरनेटमा लाखौँ युवाहरू यसको अनलाइन सदस्य बनिसकेका छन् भने यो समूहले दिल्लीको यमुना नदी सफा गर्ने जस्ता रचनात्मक आन्दोलन समेत सुरु गरिसकेको छ। यस्तो अवस्थामा अकाउन्टमाथि भएको प्रतिबन्धलाई डिजिटल दबाब समूहलाई दबाउने प्रयासका रूपमा हेरिएको छ।

सम्पर्कमा रहनुहोस्