पुस २९, २०८२
@सुनिल सिंह
भारतमा भएको ग्यास सिलिन्डर विस्फोटका कारण मृत्यु भएका सबै व्यक्ति सल्यान जिल्लाको एउटै गाउँका रहेको पुष्टि भएको छ। रोजगारीका सिलसिलामा भारत पुगेका सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको सो दुर्घटनामा ज्यान गएको गाउँपालिका अध्यक्ष भरत गिरीले जानकारी दिनुभएको छ।मृत्यु हुनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाका छोरा राजन रहेका छन्। त्यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु र ७ वर्षीय छोरा किरणको पनि मृत्यु भएको छ। दुवै परिवार करिब दुई वर्षदेखि भारतमा बस्दै आएका थिए।मंगलबार बिहान भारतको हिमाचल प्रदेशको सोलन जिल्ला अन्तर्गत अर्की बजार क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो। प्रारम्भिक जानकारीअनुसार सुतिरहेको अवस्थामा कोठाभित्र खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विस्फोट भएको बताइएको छ।घटनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य सञ्चालन गरेका थिए। तर आगलागी अत्यन्तै तीव्र भएकाले पीडितहरूलाई जोगाउन नसकिएको जनाइएको छ। यस घटनाले सल्यानसहित स्थानीय क्षेत्रलाई शोकमा डुबाएको छ। मृतकका आफन्त तथा गाउँमा रुवाबासी चलेको छ।
घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको भारतीय प्रशासनले जनाएको छ।