भदौको आगजनी र तोडफोड पहिल्यै प्रायोजित थियो, यो अराजकतन्त्र लामो समय चल्दैन: केपी शर्मा ओली

जेष्ठ २०, २०८३

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएका आगजनी र तोडफोडका घटनाहरू पहिल्यैदेखि प्रायोजित रहेको गम्भीर टिप्पणी गर्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले समेत यस कुरालाई स्पष्ट पारेको उल्लेख गर्दै उहाँले सो घटना हुनुमा ठुलो षडयन्त्र लुकेको दाबी गर्नुभयो ।

काठमाडौँमा आजदेखि सुरु भएको एमालेको दुई दिने 'पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला' लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो ।

अवैधानिक र षडयन्त्रपूर्ण तरिकाले सरकार ढालियो

अध्यक्ष ओलीले भदौको उक्त घटनाका बेला एमाले लोकतान्त्रिक र संवैधानिक रूपमा बलियो अवस्थामा रहेको स्मरण गराउनुभयो । "हामी त्यो बेला जनताबाट निर्वाचित अत्यधिक बहुमतप्राप्त सरकारमा थियौँ," ओलीले भन्नुभयो, "हाम्रो सरकारलाई कानुनी र संसदीय प्रयासबाट ढाल्ने अनेकौँ कोसिस भए । ती कोसिसहरू असफल भएपछि अवैधानिक र षडयन्त्रपूर्ण तरिकाले सरकारलाई विस्थापित गर्ने काम गरियो ।"

उहाँले तत्कालिन सरकारलाई ध्वस्त पार्नका लागि देशव्यापी रूपमा पहिलेदेखि नै तालिमहरू दिइएको आरोप समेत लगाउनुभयो । पेट्रोल बम कसरी बनाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरू कसरी तयार गर्ने र देशव्यापी रूपमा कसरी आगो लगाउने भन्ने जस्ता कुराहरूको पुरै तयारी गरेर सो घटना घटाइएको ओलीको दाबी थियो ।

राज्यसंयन्त्रलाई ओलीको चेतावनी: 'उत्ताउलिएर धेरै अगाडि नबढ्नुस्'

वर्तमान सरकार र राज्यसंयन्त्रको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष ओलीले राज्य संयन्त्रमा बस्नेहरूलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिनुभएको छ । समय र परिस्थिति सधैँ एकनासको नरहने बताउँदै उहाँले भन्नुभयो, "राणाशासन ढल्यो, पञ्चायती तानाशाह ढल्यो, राजतन्त्र ढल्यो र अनेकतन्त्रहरू गए भने यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।"

सरकारले आफ्ना मान्छे पर्दा कारबाही नगर्ने र अरूलाई भने नछाड्ने विभेदकारी नीति लिएको आरोप लगाउँदै उहाँले भदौ २3-२४ को देशव्यापी आगजनीलाई केही पनि होइन जस्तो गरेर 'सर्लक्क पचाउन' खोजिएको बताउनुभयो ।

एमालेको राष्ट्रिय कार्यशाला सुरु: पार्टी सदस्यता प्रणाली पूर्ण डिजिटल हुने

यसैबिच, नेकपा (एमाले) को आयोजनामा पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला आज (जेठ २० गते) देखि काठमाडौँमा सुरु भएको छ । जेठ २० र २१ गते चल्ने यस विशेष कार्यशालामा एमाले अध्यक्ष ओलीसहित केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

कार्यशालामा पार्टीका प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला सङ्गठन विभाग प्रमुखका साथै जनसङ्गठनका केन्द्रीय इन्चार्ज, अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ ।

पार्टीका सचिव भानुभक्त ढकालका अनुसार एमालेले अब आफ्नो पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, अभिलेखीकरण तथा समग्र व्यवस्थापनलाई प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यका साथ यो कार्यशाला आयोजना गरिएको हो ।

सम्पर्कमा रहनुहोस्