मंसिर ३, २०८२
लन्डन — युनाइटेड किङ्डममा जेल प्रशासनको गल्तीका कारण रिहा भएको एक इथियोपियन असायलम खोजी तथा यौन अपराधीलाई दुई दिन लामो खोजीपछि प्रहरीले पक्राउ गरेको छ। यो घटना सार्वजनिक भएपछि देशभरि अभिवास–विरोधी प्रदर्शन समेत भडकिएका थिए।लन्डनको मेट्रोपोलिटन प्रहरीले जानकारी दिँदै हाडुस केबाटु नामका ती व्यक्ति आइतबार बिहान उत्तरी लन्डनबाट पक्राउ परेका हुन्। उनलाई गल्तीले जेलबाट छोडिएको लगभग ४८ घण्टापछि नियन्त्रणमा लिइएको हो।
प्रधानमन्त्री कियर स्टार्मरले यो घटनालाई “लज्जास्पद प्रशासनिक त्रुटि” भन्दै तत्काल छानबिनको आदेश दिएका छन्। उनले केबाटुलाई पुनः हिरासतमा लिएपछि अब उनलाई देशनिकाला (deport) गरिने स्पष्ट गरेका छन्।
केबाटुका विगतका यौन अपराधहरूका कारण उनी छुटेको खबर सार्वजनिक भएपछि विभिन्न समूहहरूले लन्डनसहितका शहरहरूमा अभिवास विरोधी प्रदर्शन गरेका थिए। विरोधकारीहरूले सरकारको सुरक्षाप्रति गम्भीर लापरबाही भएको आरोप लगाए।
इथियोपिया मूलका केबाटुले युनाइटेड किङ्डममा असायलमको निवेदन दिएका थिए। यसबीचमा उनी यौन अपराधका अभियोगमा दोषी ठहर भई जेलमा थिए।
तर प्रशासनिक गलत सूचनाका कारण उनलाई ‘रिहा गर्न मिल्ने कैदी’को सूचीमा राखिएको थियो।सरकारले भने यस्ता गल्ती दोहोरिन नदिन कारागार प्रशासन र आप्रवासन निकायबीचको समन्वय प्रणाली पुनः मूल्यांकन गरिने जनाएको छ।
AFP