पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच भएको लगातार छलफलपछि सात बुँदे सहमति भएको छ। सहमति अनुसार रवि लामिछाने रास्वपाको सभापति रहिरहनेछन् भने आगामी प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाहलाई पार्टीको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिने तय गरिएको छ।राति नै चलेको बैठक बिहान करिब ४ बजे औपचारिक समझदारीमा परिणत भएको हो। सहमतिमा वैकल्पिक राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ्ने, सुशासन र भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने तथा जनताका प्राथमिकतामा आधारित नीति ल्याउने प्रतिबद्धता उल्लेख गरिएको छ।सहमति अनुसार पार्टीको नाम र चुनावी चिन्ह ‘घण्टी’ यथावत रहनेछ। संगठन विस्तार, उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउने र युवा तथा पेशेवरहरूलाई नेतृत्व भूमिकामा अघि ल्याउने उल्लेख छ।नेताहरुले यो सहमति आगामी निर्वाचनतर्फको तयारीको महत्त्वपूर्ण कदम भएको बताउँदै जनताका मुद्दालाई प्राथमिकता दिइने दाबी गरेका छन्।यद्यपि, बालेन शाह प्रधानमन्त्री बन्ने कुरा निर्वाचन परिणाम र संसद्का समीकरणमा निर्भर रहनेछ।