मंसिर २९, २०८२
काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बाट सम्मानित भएपछि चर्चित कलाकार वसुन्धरा भुसाल भावुक बनेकी छन्। करिब ६ दशकदेखि नेपाली कला र संस्कृतिको क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी भुसाललाई सम्मान गरिँदा उनले आफ्नो लामो यात्राको कदर भएको महसुस भएको बताएकी छन्।सम्मान ग्रहण गर्दै कलाकार भुसालले भनिन्, “कलाको यात्रामा बिताएका वर्षहरू सम्झँदा आजको यो क्षण निकै भावुक बनाउने खालको छ। ६ दशकको मेहनत देखिएकोमा अत्यन्तै खुसी छु।” उनले आफूलाई यो स्थानसम्म ल्याइपुर्याउने दर्शक, शुभेच्छुक र सहकर्मीहरूप्रति आभार व्यक्त गरिन्।महानगर प्रमुख बालेन शाहले नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा वसुन्धरा भुसालले पुर्याएको योगदान अमूल्य रहेको उल्लेख गर्दै यस्ता स्रष्टाहरूको सम्मान गर्नु राज्य र समाजको दायित्व भएको बताए। उनले कलाकारहरूको सम्मानले नयाँ पुस्तालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।नेपाली चलचित्र, टेलिशृंखला र रंगमञ्चमा सशक्त अभिनयमार्फत छुट्टै पहिचान बनाएकी वसुन्धरा भुसाललाई यसअघि पनि विभिन्न संघसंस्था तथा समारोहमा सम्मान गरिँदै आएको छ। पछिल्लो सम्मानले उनको लामो कलायात्रालाई थप उर्जा दिएको उनी निकट स्रोतले जनाएको छ।
![]()