बार्सिलोनाद्वारा न्युक्यासल ७-२ ले ध्वस्त, राफिन्हा र यमलको सनसनीपूर्ण प्रदर्शन
✍️एस.आचार्य
बार्सिलोना, स्पेन – युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले न्युक्यासल युनाइटेडमाथि ७-२ को ऐतिहासिक जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। समग्रमा ८-३ को नतिजासहित बार्सिलोनाले अन्तिम आठको यात्रा तय गरेको हो।
खेलको मुख्य घटनाक्रम
क्याम्प नाउमा भएको यस प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान २-२ गोल गरे भने लामिन यमल, फर्मिन लोपेज र मार्क बर्नालले १-१ गोल थपे। न्युक्यासलका तर्फबाट एन्थोनी एलाङ्गाले पहिलो हाफमा दुई गोल गर्दै खेललाई रोमाञ्चक बनाए पनि दोस्रो हाफमा बार्सिलोना पूर्ण रूपमा हावी भयो।
खेलको छैटौं मिनेटमै यमलको पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। एलाङ्गाले १५ औं मिनेटमा बराबरी गोल फर्काए। लगत्तै १८ औं मिनेटमा बर्नालले गोल गर्दै बार्सिलोनालाई पुनः अघि बढाए, तर २८ औं मिनेटमा एलाङ्गाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को स्थितिमा पुर्याए। पहिलो हाफको अन्त्यतिर यमलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३-२ को अग्रता दिलाए।
दोस्रो हाफमा बार्सिलोनाले आक्रमणको वर्षा नै गर्यो। ५१ औं मिनेटमा फर्मिन लोपेज, ५६ औं र ६१ औं मिनेटमा लेवान्डोस्की तथा ७२ औं मिनेटमा राफिन्हाले गोल गर्दै न्युक्यासलको रक्षापंक्तिलाई छिन्नभिन्न पारे।
रेकर्डै रेकर्डको रात
यस खेलले च्याम्पियन्स लिगको इतिहासमा केही नयाँ कीर्तिमानहरू पनि स्थापित गरेको छ। लामिन यमल च्याम्पियन्स लिगमा १० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी (१८ वर्ष २४८ दिन) बनेका छन्, उनले केलियन एम्बाप्पेको रेकर्ड तोडेका हुन्। अर्कोतर्फ, ३७ वर्षीय रोबर्ट लेवान्डोस्की यस प्रतियोगिताको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्।
राफिन्हाले ५ सट, ५ अवसर सिर्जना, २ गोल र २ असिस्टसहित खेलको नायक सावित भए।
अबको यात्रा
यस सानदार जितसँगै बार्सिलोनाले अब क्वाटरफाइनलमा एटलेटिको म्याड्रिड वा टोटेनह्याम मध्ये एकको सामना गर्नेछ। न्युक्यासलका लागि भने यो सिजनको युरोपेली यात्रा निकै पीडादायी अन्त्य बनेको छ।