बाबुराम भट्टराई को क्रिश्चियन व्यवहार……

माघ २८, २०८२

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधनपछि गरिएको धार्मिक व्यवहारले नेपाली समाजमा पुनः गहिरो बहस जन्माएको छ। जेठो छोरा भएर दागबत्ती दिए पनि परम्परागत काजक्रिया नगर्नु, कपाल नखोराउनु र सेतो वस्त्र नलगाउनुजस्ता निर्णयले उनलाई आलोचना र समर्थन दुवैको केन्द्रमा ल्याएको हो।आर्यघाटमा जुत्ता लगाएको तस्बिर सार्वजनिक भएपछि विवाद अझ चर्किएको थियो। यद्यपि सचिवालयले उक्त तस्बिर अन्त्येष्टिअघि खिचिएको र पण्डितकै सल्लाहमा त्यस समय जुत्ता नखोलिएको स्पष्ट पारेको छ। डा. भट्टराई किरियामा नबसे पनि उनका भाइ शिवप्रसाद भट्टराई भने विधिपूर्वक किरियामा बसेका छन्।सचिवालयका अनुसार डा. भट्टराई सबै धर्मप्रति सम्मान राख्छन् तर विज्ञान र तर्कमा विश्वास गर्ने भएकाले परम्परागत कर्मकाण्डलाई आत्मसात् गर्दैनन्। जनयुद्धकालमा आमाको निधन हुँदा पनि काजक्रिया नगरेको तथ्यले यो निर्णय आकस्मिक वा राजनीतिक सुविधा अनुसार नभएको दाबी गरिएको छ।तर आलोचकहरू भने सार्वजनिक जीवनमा रहेका, सम्भावित राष्ट्रप्रमुखको भूमिकामा देखिएका नेताबाट यस्तो व्यवहारले बहुसंख्यक समाजको भावनालाई ठेस पुगेको तर्क गर्छन्। दशैँ–तिहारमा टीका लगाउने तर बाबुको निधनमा संस्कार अस्वीकार गर्नु ‘द्वैध चरित्र’ भएको आरोप पनि उठाइएको छ।समर्थकहरू भने यसलाई धर्मनिरपेक्ष राज्यको मर्मसँग जोड्छन्। उनीहरूका अनुसार राज्यको नेतृत्व कुनै एक धर्म वा परम्पराको प्रतिनिधि होइन, बरु सबै नागरिकको स्वतन्त्रताको प्रतीक हुनुपर्छ। व्यक्तिगत आस्थाअनुसार गरिने निर्णयलाई सार्वजनिक हैसियतसँग जबर्जस्ती बाँध्नु लोकतान्त्रिक मूल्यविपरीत हुने उनीहरूको तर्क छ।कम्युनिष्ट विचारधाराबाट उदाएका तर आफू कम्युनिष्ट नरहेको घोषणा गरिसकेका डा. भट्टराई हाल प्रगतिशील समाजवादी पार्टीका संरक्षक हुन्। उनका पछिल्ला धार्मिक व्यवहारले उनी सेक्युलर–वैज्ञानिक धारमै अडिग छन् कि सांस्कृतिक राजनीति पुनः परिभाषित गर्न खोज्दै छन् भन्ने प्रश्नलाई फेरि सतहमा ल्याएको छ।

सम्पर्कमा रहनुहोस्