बजेट रास्वपाको कि राष्ट्रिय?: हर्क साम्पाङको प्रश्न, सुकुम्बासी बस्तीको बिजोगबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

बैशाख २८, २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले आगामी बजेट निर्माण प्रक्रिया र सुकुम्बासी समस्यालाई लिएर सरकारमाथि कडा प्रहार गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले सरकारले प्रतिपक्षी दलहरूसँग कुनै समन्वय नगरी एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै असन्तुष्टि पोखेका हुन्।

"बजेट सरकारको गोजीको पैसा होइन"

सांसद साम्पाङले आगामी बजेटको स्वरूपमाथि प्रश्न उठाउँदै यसलाई 'राष्ट्रिय बजेट' भन्न सकिने अवस्था नरहेको टिप्पणी गरे। उनले सत्तापक्ष, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै बजेट निर्माणमा समावेशिता नदेखिएको दाबी गरे।

"बजेट सरकार र सरकारमा बस्नेको गोजीको पैसा हो? यो राष्ट्रिय ढुकुटी हो भने प्रतिपक्षीसँग सल्लाह गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बनाउनुपर्ने होइन र?" उनले प्रश्न गरे, "यो राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट?"

सुकुम्बासीको मुद्दामा प्रधानमन्त्रीलाई प्रश्न

सांसद साम्पाङले काठमाडौँका सुकुम्बासी र गरिब बस्तीको समस्यालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि पनि प्रश्न उठाए। भत्किएका बस्ती र बिजोग अवस्थामा रहेका होल्डिङ सेन्टरहरूमा प्रधानमन्त्री आफैँ पुगेर वस्तुस्थिति बुझेको छ कि छैन भन्दै उनले जिज्ञासा राखे।

"गरिबका भत्किएका बस्ती र बिजोग गरी राखिएका होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभएको छ कि छैन? कि आफ्नै कार्यालयमा लुकेर बस्नुभयो?" साम्पाङले आक्रोश पोखे। उनले सरकारले सुकुम्बासीका पीडा नबुझी उनीहरूलाई कष्टकर अवस्थामा छाडेको आरोप समेत लगाए।

प्रतिनिधिसभामा साम्पाङको यो सम्बोधनले बजेट सत्रअघि नै सदनमा विपक्षी दलहरूको आक्रामक उपस्थितिको संकेत गरेको छ। विशेष गरी सरकारको नीति तथा कार्यक्रम र बजेटमा सबै पक्षको अपनत्व हुनुपर्ने उनको मागले सदनमा नयाँ बहस सिर्जना गरेको छ।

सम्पर्कमा रहनुहोस्