बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

मंसिर १, २०८२

ढाका – बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्ष जुलाई–अगस्टमा भड्किएको विद्रोहका क्रममा राज्यसत्ताले गराएको दमनमा संलग्न रहेको भन्दै हसिनासहित तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो।अदालतले सार्वजनिक गरेको ४५३ पृष्ठको लामो फैसलामा हसिनासँगै तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्ड तोकिएको छ। सोही प्रकरणमा अभियुक्त बनाइएका तत्कालीन प्रहरी प्रमुख अल ममूलले सरकारी साक्षी बनेपछि उनलाई मात्र पाँच वर्ष कैद सजाय दिइएको हो।गत वर्ष आन्दोलन चर्किँदै जाँदा १४०० जनाको ज्यान गएको र २५ हजारभन्दा बढी घाइते भएको अभियोजन पक्षले उल्लेख गरेको थियो। मृतकहरूको सूचीसहित ७४७ पृष्ठ लामो दस्तावेज अदालतमा पेश गरिएको थियो।भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाइएको थियो। आन्दोलनपछि २०२4 को अगस्टमा उनी सत्ता गुमाएपछि भारततर्फ भागेकी थिइन्।अदालतले सुनुवाइका क्रममा हसिना र तत्कालीन गृहमन्त्री कमाललाई पक्राउ पुर्जी जारी गरेको थियो। फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारणसमेत गरेको थियो।अभियोगपत्रअनुसार, आन्दोलनका क्रममा भएको हत्या, हत्या प्रयास, हिंसात्मक दमनमा उक्साहट, षड्यन्त्र र मानवता विरुद्धका अन्य कृत्यमा उनीहरू जिम्मेवार ठहरिएका छन्। विशेषगरी निहत्था विद्यार्थी तथा सर्वसाधारणमाथि योजनाबद्ध हमला गराइएको अदालतले निष्कर्ष निकालेको छ।हसिनामाथि १४ जुलाई २०२4 मा प्रधानमन्त्रीको हैसियतमा पत्रकार सम्मेलनमा आन्दोलनरत विद्यार्थीलाई ‘रजाकरको नाति’ भन्दै अपमानजनक टिप्पणी गरी दमन भडकाउने भूमिका खेलेको आरोपसमेत लगाइएको थियो।विभिन्न स्थानमा भएका गोलीकाण्ड, आगजनी र विद्यार्थी तथा सर्वसाधारणको सामूहिक हत्यामा उनीहरूको संलग्नता प्रमाणित भएको अदालतले जनाएको छ। पाँच अगस्ट २०२4 मा अशुलियामा पाँच जनालाई गोली हानी हत्या गरी शव जलाइएको घटनासमेत अभियोगमा समावेश थियो।

@एस आचार्य

सम्पर्कमा रहनुहोस्