मंसिर २९, २०८२
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफू नेतृत्वमा आएपछि करिब रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको जानकारी दिनुभएको छ।आज काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले महानगरपालिकाको दीर्घकालीन लक्ष्यका रूपमा रु दुई खर्ब मूल्य बराबरको एक हजार ८५९ रोपनी अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्ने योजना रहेको बताउनुभयो।उहाँले हालसम्म रु ९१ करोड लागतमा सम्पदा संरक्षणसम्बन्धी विभिन्न कार्य सम्पन्न गरिएको उल्लेख गर्दै महानगरभित्रका दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रका रूपमा तोकिएको जानकारी दिनुभयो।त्यसैगरी, रु पाँच अर्ब चार करोड लागतमा २५१ वटा योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएको र धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधारको काम सम्पन्न भइसकेको पनि प्रमुख शाहले जानकारी गराउनुभयो।कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा विभिन्न वडाबाट सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।काठमाडौँ महानगरपालिकाले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ।