जेष्ठ १७, २०८३
प्रधानमन्त्री बालेन शाहले 'नेपालले पनि भारतको जग्गा मिचेको पाइयो' भनी संसद्मा दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद बासना थापाले प्रधानमन्त्रीको उक्त भनाइको तथ्य र स्थान सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो ।
सांसद थापाले प्रधानमन्त्रीले रोष्टमबाटै संवेदनशील विषयमा हलुका टिप्पणी गरेको आरोप लगाउँदै भन्नुभयो, "सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले पनि भारतको सीमा मिचेको बताउनुभयो, त्यो ठाउँ कहाँनेर हो? हामीलाई पनि छिटो भन्दा छिटो अवगत गराइदिनुपर्यो ।" उहाँले यदि सो कुरा सत्य हो भने सरकारले प्रष्ट पार्नुपर्ने, अन्यथा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग सभामुख समक्ष राख्नुभयो ।
बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम संसद्को नियमावली अनुसार नभएको भन्दै आकस्मिक रूपमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक भए पनि नियमावलीमै नभएको व्यवस्था देखाएर कार्यसूची परिवर्तन गरी समय दिइएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।
प्रधानमन्त्रीको सम्बोधनलगत्तै विपक्षी सांसदहरूले नियमावलीको विषय र सीमा सम्बन्धी तथ्यहीन जवाफ आएको भन्दै विरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच केही बेर भनाभन र संसद्मा आक्रोशपूर्ण वातावरण सिर्जना भएको थियो ।
सदनमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूबीच तनाव बढेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले विपक्षी दलका सांसदहरूलाई संसद्मा प्रस्तुत हुने शैली र भाषाका विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सचेत गराउनुभएको छ ।
सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा विपक्षी दलका सांसदहरूले संसद्को मर्यादा पालन नगरेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका सांसद ऐनबहादुर महर, श्रम संस्कृति पार्टीका सांसद आरेन राई तथा ध्रुवराज राईको नामै लिएर सदनमा मर्यादित भाषा प्रयोग गर्न र संसद्को मर्यादामा बस्न पटक-पटक निर्देशन दिनुभएको थियो ।